सोमबार, वैशाख २९, २०८२

आगलागीबाट जुम्लामा एकै घरका ४ बालबालिकाको मृत्यु

नेपालखोज २०७९ वैशाख १० गते ७:२८

काठमाडौं । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन् ।

प्रहरी नायब उपरीक्षक चन्दले भने ,‘आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो,सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।’ आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए ।

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा लगिएको उनले बताए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया