बिहीबार, जेठ २, २०८२

पुस्तक किन पढ्ने ?

सुनील सापकोटा २०७९ वैशाख १० गते ८:११

आज विश्व पुस्तक दिवस । वर्षमा कुनै न कुनै दिन प्रायः पर्व वा दिवस परी नै रहन्छ । मलाई पनि समय काट्न त्यस सम्बन्धमा लेख्न जाँगर चलिरहेछ । कति दिनसम्म यो जाँगर चल्ने हो त्यो थाहा छैन ।

विगत केही वर्षदेखि वा भनौं इन्टरनेट आएदेखि हाम्रो देशमा मात्र न भई संसार भरी नै पुस्तक, प्रिन्ट मिडिया (समाचार पत्र) ले विस्तारै-विस्तारै संकटको सामना गरिरहेको अवस्था छ । पहिले जस्तो पढ्ने बानी प्रायः कसैमा पनि छैन र पुस्तकहरु बिक्री-वितरण पनि त्यति हुँदैनन् ।

टीभी र इन्टरनेटबाट ‘साउन्ड, स्याडो र लाइट’ को मिश्रणको जीवन्त दृश्यले आवाज र अक्षरलाई पछाडि पार्दै गइरहेको छ । सबैको पढ्ने बानी हराएको अवस्था छ । हामीजस्ता पौढलाई त त्यति फरक न पर्ला तर अहिलेका केटाकेटीहरु र हाम्रो भावी सन्ततिका लागि खतरनाक अवस्था छ जस्तो मलाई लाग्छ । किनभने केही वैज्ञानिकको भनाइमा अब हाम्रो केटाकेटीहरुलाई टीभी र इन्टरनेटले समाजबाट विमुख बनाएर एक्लो पर्दै विस्तारै अवसादग्रस्त (डिप्रेसन) मा पुर्याउँदै छ ।

मानसिक बिरामीको संख्या दिनहुँ वृद्धि हुनुमा एउटा कारण यो पनि छ । उनीहरुको भनाइअनुसार आउने हाम्रा नयाँ पुस्तालाई मानसिक बिरामीबाट बचाउने र उनीहरुको आँखालाई स्वस्थ राख्ने हो भने केटाकेटीहरुलाई किताबको दुनियाँमा फर्काइ पढ्ने बानी बसाल्नुपर्छ । किताब पढ्दा मानिसको कल्पना शक्तिको उर्वरता पनि बढ्छ । त्यसैले यो विश्व पुस्तक दिवसको अवसरमा म सबै केटाकेटीका मातापितामा आफ्नो बच्चालाई राम्रा-राम्रा ज्ञानवर्द्धक पुस्तकहरु अभ्यास गराउन हुन हार्दिक अनुरोध गर्दछु । विश्व पुस्तक दिवसको अवसरमा सबैलाई शुभकामना ।

प्रतिक्रिया