बुधबार, जेठ १, २०८२

जिम्बावेविरुद्ध घरेलु मैदानमा हुने सिरिजका लागि आजबाट प्रशिक्षण सुरु

नेपालखोज २०७९ वैशाख १३ गते ६:०७

काठमाडाैं । जिम्बावेको ए टिमविरुद्ध घरेलु मैदानमा हुने ५० ओभर र २० ओभरको सिरिजका लागि नेपाली क्रिकेट टिमले आजबाट प्रशिक्षण सुरु गर्ने भएको छ । अप्रिल ३० तारिखबाट कीर्तिपुर मैदानमा हुने सिरिजका लागि जिम्बावे टिम २८ तारिखमा नेपाल आइपुग्नेछ । यो सिरिजका लागि क्यानले २३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा बसिर अहमेदले पहिलो पटक स्थान बनाएका छन् भने सुनील धमलाले लामो समयदेखि कमब्याक गरेका छन् ।

क्याम्पमा बोलाएका सबै खेलाडीलाई हिजाे रिपोर्टिङका लागि क्यानले बोलाएको र आजबाट प्रशिक्षण सुरु गर्ने भएको छ । नेपालले सुरुवातमा जिम्बावे ए टिमसँग एकदिवसिय सिरिज खेल्नेछ । जसमा पहिलो खेल अप्रिल ३० ताखिरमा हुनेछ भने दोस्रो खेल मे दुई तारिखमा हुनेछ । त्यसपछि नेपालले तेस्रो खेल मे चारमा खेल्नेछ ।

टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेल खेल मे ६ मा खेल्नेछ भने दोस्रो खेल मे सात र अन्तिम खेल मे नौं मा खेल्नेछ । जिम्बावे ए टिम पहिलो पटक नेपालमा ५० ओभर र टी-ट्वान्टी सिरिजका लागि आउन लागेको हो ।

अमेरिका भ्रमणमा जान अगाडी नेपाली टिमले अन्तिमपटक घरेलु मैदानमा सिरिज खेल्नेछ । सन्दीप लामिछाने कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोदभण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला रहेका छन् ।

प्रतिक्रिया