उत्तर कोरियाका शासक कठोर हुँदै, परमाणु हतियार बलियो बनाउने उद्घोष

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशले परमाणुअस्त्रको सख्या बढाउने उद्घोष गरेका छन् । एक सैन्य परेडमा सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गरेका हुन् । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम पनि प्रदर्शन गरिएको थियो ।
गत मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ यता सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो । अन्तर्राष्ट्रिय समुदायले उक्त परीक्षणको व्यापक आलोचना तथा निन्दा गरेको थियो । उक्त परीक्षणपछि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध घोषणा गरेको थियो ।
परमाणुअस्त्र बोक्न सक्नेगरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता संयुक्त राज्य अमेरिकासम्म छ । सोमवारको परेडमा ध्वनिको गतिभन्दा तीव्र गतिमा प्रहार गरिने हाइपरसोनिक क्षेप्यास्त्र तथा पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्रहरू पनि प्रदर्शन गरिएका थिए ।
अविचलित देश
अन्तर्राष्ट्रिय निन्दा र प्रतिबन्धबाट अहिलेसम्म किम विचलित भएको देखिएको छैन । उनले भनेका कुराबाट पनि त्यसको संकेत देखिन्थ्यो । ‘हामी तीव्र गतिमा हाम्रो देशको पारमाणविक क्षमता सुदृढ बनाउन र विकास गर्न आवश्यक कदम चालिरहने छौँ’, उनले भने ।
सरकारी समाचार संस्था केसीएनएका अनुसार परमाणुअस्त्र प्रयोग गर्ने फौज परिचालित हुन जुनसुकै बेला पनि तयार हुनुपर्ने उनको भनाइ थियो । उत्तर कोरियाका परमाणुअस्त्र वस्तुतः आफूविरुद्ध हुन सक्ने सम्भावित युद्धलाई निरुत्साहित गर्ने साधन भए पनि ती अरू उद्देश्यका लागि पनि प्रयोग सकिने उनको भनाइ थियो । उनका शब्दले आफूमाथि आक्रमण भए उत्तर कोरियाले प्रत्याक्रमण गर्ने पुरानो भनाइ प्रतिध्वनि गर्छन् ।
सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेका तस्बिरमा सैन्य परेडमा ह्वासङ–१७ बलिस्टिक क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको थियो । गत महिना उक्त विशाल आईसीबीएमको परीक्षण गरिएको दाबी प्योङ्याङले गरेको थियो । तर दक्षिण कोरियाली विज्ञहरुले उक्त परीक्षण सफल भएकोबारे आशंका व्यक्त गरेका थिए ।
प्योङ्याङमा आयोजना हुने सैन्य परेडहरूमा सेनाले प्रायः ट्यांक, तोप र सैनिकको लामो लस्करसहित नयाँ अस्त्रहरू पनि प्रदर्शन गर्ने गरेको छ । यो वर्ष उत्तर कोरियाले कोरियाली प्रायःद्वीपमा तनाव उत्पन्न हुनेगरी विभिन्न क्षेप्यास्त्र परीक्षण गरेकाले सोमवारको सैन्य परेडलाई धेरैले उत्सुकतापूर्वक नियालेका थिए ।
उत्तर कोरियाली गतिविधिविरुद्ध कडा नीति लिइनुपर्ने धारणा राख्ने यून सङ–न्यल दक्षिण कोरियामा नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकाले पनि दुई देशको सम्बन्ध अझ चिसिएको छ । उनले पदभार ग्रहण गर्न बाँकी नै छ । केही साताअघि दक्षिणका रक्षामन्त्री स वुकले उत्तर कोरियाका क्षेप्यास्त्र प्रक्षेपण गर्ने ठाउँमा आक्रमण गर्न सक्ने क्षमता दक्षिण कोरियासँग भएको टिप्पणी गरेका थिए । प्योङ्याङले त्यसविरुद्ध चर्को प्रतिक्रिया व्यक्त गरेको थियो ।
सन् २०१८ मा तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गरेपछि किमले लामो दूरीका बलिस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्रको परीक्षणमा आवधिक रोक लगाएका थिए । तर सन् २०२० मा उनले पहिला आफूले गरेको वाचा मान्न आफू बाध्य नभएको घोषणा गरे । बाइडन नेतृत्वको अमेरिकी सरकारले उत्तर कोरियासँग बिनासर्त फेरि वार्ता गर्न अमेरिका इच्छुक रहेको बारम्बार भनेको छ ।
तर वार्ताका लागि प्रतिबन्धहरू हटाइनुपर्ने माग राखेको उत्तर कोरियालाई वार्तामा ल्याउन उसले खासै केही गरेको देखिँदैन । बरु अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिण कोरिया र जापानसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छन् । उनले दुई देशबीच सम्बन्ध सुधार गर्ने दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनको प्रयासलाई समर्थन गरेका छन् ।
क्षेप्यास्त्र परीक्षणबाहेक उत्तर कोरियाले पुंगे–रीस्थित परमाणुअस्त्र परीक्षण गर्ने स्थानमा मार्च महिनामा गतिविधि बढाएको संकेत भूउपग्रहबाट प्राप्त तस्बिरमा देखिएपछि प्योङ्याङले परमाणुअस्त्र र लामो दूरीका क्षेप्यास्त्र परीक्षण फेरि गर्न लागेको हो कि शंका उत्पन्न भएको छ । – बीबीसी
प्रतिक्रिया