शनिबार, जेठ ४, २०८२

‘विश्वविद्यालयहरु दक्ष जनशक्ति उत्पादन गर्न चुके, व्यवसायले जनशक्ति नै पाएन’

नेपालखोज २०७९ जेठ २२ गते १६:०५

काठमाडौं । नेपाली विश्वविद्यालयहरुले उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उद्यमी तथा सरोकारवालाहरुले बताएका छन् । उद्यम तथा प्राज्ञिक क्षेत्रबीच आवश्यक सहकार्य र संवाद नहुँदा विश्वविद्यालयहरु दक्ष जनशक्ति उत्पादन गर्नमा चुकेको र व्यवसायले आफूले चाहेको जनशक्ति नपाएको अवस्था रहेको उनीहरुको भनाइ छ ।

जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)को सहयोगमा आयोजना गरेको अन्तर्क्रियामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दीपक काफ्लेले विद्यार्थीहरुलाई बजारमा पठाउनुअघि आधारभूत व्यावसायिक तथा प्राविधिक ज्ञान दिनु जरुरी रहेको बताए । उनका अनुसार विश्वविद्यालयले विद्यार्थीहरुलाई प्रविधिमैत्री र रोजगारमुखी शिक्षा दिई प्रतिस्पर्धी बनाउनु आवश्यक छ ।

शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले विकसति देशहरुमा उद्योग र विश्वविद्यालय सँगै बसेर कोर्स डिजाइन गरिने भएकाले उनीहरु बजारमा सहजै विक्ने तर नेपालमा भने त्यस्तो सहकार्यको अभावमा उच्च शैक्षिक संस्थाहरु प्रतिस्पर्धी जनशक्ति उत्पादनमा असफल भएको बताए । ‘त्यस्तो संस्कृति यहाँ पनि अपनाउनु पर्ने देखिन्छ,’ उनले भने ।

पर्यटन उद्यमी तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसनका पूर्वसचिव, वसन्तराज मिश्रले विश्वविद्यालयहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर आफ्ना पाठ्यक्रमहरु परिमार्जन गर्न सुझाए । ‘कोरोना महामारीपछि उपभोक्ता संरक्षण कानुनहरुको महत्त्व ज्यादै बढेर गएको छ, त्यस्तो विषयहरुमा हामीले ध्यान दिनुपर्छ,’ उनले भने । यसका साथै स्वरोजगारमूलक शिक्षाको महत्त्व झन बढेको तर विश्वविद्यालयहरुले त्यसलाई सम्बोधन गर्न नसकेको उनले बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का अध्यक्ष परितोष पौड्यालका अनुसार डिजिटल प्रविधिको तीव्रतर विकासले प्राज्ञिक क्षेत्र र उद्योगबीचको खाडल झनै बढाएको बताए ।

कोलम्बो प्लान स्टाफ कलेज, मनिला, फिलिपिन्सका पूर्वमहानिर्देशक डा. रामहरि लामिछानेले गुरुकुल र आधुनिक शिक्षाका राम्रा अभ्यासको मिश्रण गरेर प्रभावकारी शिक्षण पद्दतिको विकास गर्न सुझाव दिए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. भीमप्रसाद सुवेदीले हरेक वर्ष ९० हजारको हाराहारीमा नेपाली विद्यार्थी विदेशका विश्वविद्यालयमा पुगिरहेको बताउँदै गुणस्तरीय शिक्षा र तालिमको सहायताले उनीहरुका लागि स्वदेशमै राम्रो आय गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

जनमैत्रीका क्याम्पस प्रमुख भोलानाथ ओझाले अनुदान आयोग, शिक्षा मन्त्रालयलगायत संस्थाले विश्वविद्यालय र शैक्षिक संस्थाहरुलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा अर्थशास्त्री तथा क्याम्पसका अध्यक्ष डा. डिल्लीराज खनाल, लक्ष्मी बैंकका मानव संसाधन विभागका अमित शर्मालगायतले पनि आफ्ना धारणा राखेका थिए ।

कार्यक्रम आयोजक क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख डा. नीलम सुवेदीले बजारमा बढ्दै गएको बेरोजगारीको अवस्था, अर्कोतर्फ उद्योग व्यावसायीले दक्ष जनशक्तिको अभाव भएको गुनासो आइरहेको अवस्थामा विश्वविद्यालय र उद्योगबीचको खाडल (ग्याप) पत्ता लगाइ त्यसलाई समाधान गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।

जनमैत्री बहुमुखी क्याम्पस काठमाडौं उपत्यकामा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणपत्र (क्यूएए) प्राप्त गर्ने पहिलो सामुदायिक क्याम्पस हो । २०४७ सालमा स्थापित यो क्याम्पसमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया