आइतबार, वैशाख २८, २०८२

भारतीय फोटो पत्रकार चौधरी ७ महिनादेखि झापा कारागारमा

नेपालखोज २०७९ जेठ २४ गते १३:३९

झापा । भारतको पश्चिम बंगालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा बिगत सात महिनादेखि झापा कारागारमा थुनामा छन् ।

उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए। चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको साथमा १०० डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद भएपछि उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

गत मङ्सिर २४ गते झापा जिल्ला अदालतमा पेश गरिएपछि उनीलाई खोटा मुद्रासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरिसकेको प्रवक्ता पाठकको भनाइ छ । अदालतको आदेशपछि उनी झापा कारागारमा छन् ।

घरमा आमा मात्र रहेका चौधरी ‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपालको पहाडी पर्यटकीय स्थानको यात्राका लागि नेपाल आएको उनले झापा जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ ।

हाल झापा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको चौधरीको मुद्दामा चासो बढेको पाइएको छ । सात महिनादेखि झापामा प्रहरी हिरासत र कारागारमा रहेको उनको अवस्थाको बारेमा भर्खरै मात्र सार्वजनिक भएको हो । भारतीय फोटो पत्रकार चौधरी निर्दोष रहेको भन्दै उनको रिहाइका लागि पहल गर्न थालिएको छ । उनी नक्कली नोटको कारोवारी नभएको दाबी गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले रिहाइका लागि अनुरोध गरे। उनले छिट्टै मुद्दाको छिनोफोनो हुनुपर्ने माग गरे।-रासस

प्रतिक्रिया