शनिबार, जेठ ४, २०८२

बेटी पढाउ बेटी बचाउ अभियान : पारदर्शी होला त साइकल र ल्यापटप वितरण योजना ?

नेपालखोज २०७९ जेठ २६ गते ११:४२

जनकपुर । मधेश प्रदेश सरकारले यस वर्ष सामुदायिक विद्यालयमा १२ कक्षा अध्ययन गर्ने छात्राहरूलाई ल्यापटप दिने भएको छ । अघिल्लो वर्ष आठ कक्षामा अध्ययनरत सबै छात्रालाई वितरण गर्ने लक्ष्य राखेर साइकल बाँडेको थियो । अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका समेत गरेको थियो ।

यस पटक सोझै विद्यालयहरूमार्फत छात्राहरूलाई साइकल खरिदका लागि अनुदान उपलब्ध गराउने गरी निर्देशिकामा परिमार्जन गरिएको छ । यो वर्ष करिब ३० हजार छात्राले साइकल पाउने भएका छन् । कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई ल्यापटप वितरण गर्नेबारे मापदण्ड टुङ्ग्याउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयको भनाइ छ ।

मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह सुडीले अघिल्लो पटक टेन्डर गर्न नसकिएको तर अब विद्यालयमार्फत कक्षा आठका छात्राहरूका लागि साइकल उपलब्ध गराइने बताए । एक वर्षमा करिब ३० हजार साइकल वितरण गर्ने लक्ष्य राखिएको छ । मधेश प्रदेस सरकारले ‘बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत साइकल तथा ल्यापटप योजना ल्याएको हो । मन्त्री साहले बजेट पारित भएपछि विद्यालयहरूलाई साइकल खरिद गर्न रकम निकासा गरिने बताएको बीबीसीले उल्लेख गरेको छ ।

मन्त्री साहले विज्ञान संकाय लिएर १२ कक्षा उत्तीर्ण गर्ने छात्राहरूलाई ल्यापटप दिने योजना रहेको जानकारी दिएका छन् । तर आफैँ खरिद गरेर दिने वा क्याम्पसहरूलाई पैसा पठाइदिने भन्ने विषय नटुंगिएको उनको भनाइ छ । ल्यापटप पाउन योग्य ठहरिने कक्षा १२ मा पढिरहेका छात्राहरूको संख्या चारदेखि पाँच हजारसम्म रहेको छ ।-बीबीसी

प्रतिक्रिया