त्रिविको परीक्षामा अर्को प्रश्नपत्र पनि पोहोरकै दोहोरियो, छानबिन गरिँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रमा पटकपटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ ।
त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो ।
मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।
त्रिवि मानविकी संकायका डिन प्रा.डा. कुसुम शाक्यका अनुसार हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समितिसमक्ष आग्रह गरिएको छ ।
हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिएको र अब हुने परीक्षामा यस्तो समस्या आउन नदिनेसमेत शाक्यको भनाइ छ ।
त्रिविले विज्ञ समूहबाट प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीको कारणले अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गर्दछ ।
रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा.डा. पेशल दाहालले मानविकी संकायले छानबिनका लागि आग्रह गरेकाले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्ने बताए । ‘बुधबार नै मानविकी संकायले छानबिनका लागि आग्रह गरेको पत्र मैले प्राप्त गरेको छु । छानबिन गरेपछि कसको लापरबाही रहेको छ भन्ने थाहा हुन्छ,’ उनले भने ।
उनले परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्ने गएको हुनसक्ने बताए । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ । -रासस
प्रतिक्रिया