प्रधानमन्त्री अस्वीकार गरेका प्रेमदास राष्ट्रपति बन्न इच्छुक !

काेलम्बाे । श्रीलंकाका प्रमुख विपक्षी नेता सजित प्रेमदासले गोटाबय राजपक्षले राजीनामा दिएपछि आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको बीबीसीसँग बताएका छन् । उनको समगी जन बलवेगया (एसजेबी) दलले उनको उम्मेदवारीका लागि समर्थन जुटाउन अन्य सहयोगीहरूसँग छलफल गरेपछि प्रेमदासले त्यस्तो इच्छा व्यक्त गरेका हुन् । अहिले श्रीलंका चरम आर्थिक संकटमा परेको छ । गत मार्च महिनादेखि हजारौँ मानिसले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
विदेशी मुद्रा सञ्चितिको अभावमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको आयात गर्न पनि श्रीलंकाले संघर्ष गर्नुपरेको छ। राष्ट्रपति गोटाबय राजपक्षले आफूले यसै साता राजीनामा दिन लागेको बताएका छन् । सभामुखका अनुसार सांसदहरूले जुलाई २० का दिन नयाँ राष्ट्रपति छान्नेछन् ।
उनी सन् २०१९ मा राष्ट्रपतीय निर्वाचनमा पराजित भएका थिए। जित्नको लागि सत्तारूढ गठबन्धनका सांसदहरूको समर्थन पनि आवश्यक हुन्छ । शनिवार हजारौँ प्रदर्शनकारीहरूले प्रधानमन्त्री र राष्ट्रपतिका सरकारी निवासमा धावा बोलेका थिए । श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाएका राजपक्षप्रति जनता असन्तुष्ट भएकाले आफूले सांसदहरूको समर्थन पाउने प्रेमदासको अपेक्षा छ।
त्यहाँको मुद्रास्फीति दर ५५ प्रतिशत पुगेको छ र लाखौँ मानिसहरू जीविकोपार्जन गर्न संघर्ष गरिरहेका छन् । प्रेमदासले आफू सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन तयार रहेको बताए । एसजेबीका यी नेताले गत अप्रिलमा प्रधानमन्त्रीको पदभार गर्ने प्रस्ताव अस्वीकार गरेपछि उनको आलोचना भएको थियो ।
त्यसपछि उनका प्रतिद्वन्द्वी रनिल विक्रमसिङ्घलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । नयाँ सरकार गठन गर्न सजिलो बनाइदिन विक्रमसिङ्घले राजीनामा दिने बताइसकेका छन् । श्रीलङ्काको वर्तमान अवस्थालाई असफलता, अनिश्चितता र पूर्ण अराजकताको सङ्ज्ञा दिँदै प्रेमदासले सहमति, परामर्श, सम्झौता र एकताको खाँचो औँल्याएका छन् ।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार अहिले श्रीलंकाको राष्ट्रिय ढुकुटीमा प्रयोग गर्न सकिने झन्डै २५ करोड अमेरिकी डलर मात्र बाँकी छ । इन्धनको चरम अभावका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । ऊर्जा केन्द्र सञ्चालनका निम्ति आवश्यक इन्धन नहुँदा विद्युत् कटौती भइरहेको छ। इन्धन अभावकै कारण यस साता विद्यालयहरू पनि बन्द छन् । त्यहाँका धेरै मानिस देश छोडेर अन्यत्र जान खोजिरहेका छन्।
यस्ता समस्या तत्काल समाधान गर्न नसकिने प्रेमदासले स्वीकार गरेका छन् । देशको अर्थतन्त्रलाई सन् २०१९ को स्तरमा फर्काउन करिब चार-पाँच वर्ष लाग्ने उनको तर्क छ। जारी संकट पार गर्न आफ्नो दलसँग आर्थिक योजना रहेको बताए । ‘हामी जनतालाई धोका दिनेछैनौँ ।
हामी स्पष्ट रूपमा देशलाई आर्थिक संकटमा उद्धार गर्ने योजनाहरू प्रस्तुत गर्नेछौँ,’ प्रेमदासले भने । तर कोलम्बोको गेल फेस साइटमा प्रदर्शनकारीहरूले श्रीलंकाको वर्तमान अवस्थाका लागि सबै २२५ सांसद जिम्मेवार रहेको बताएका छन् । उनीहरूले राजनीतिमा नयाँ र ऊर्जावान् व्यक्तिको आगमन तथा नयाँ थालनी चाहेको बताएका छन् ।- बीबीसी
प्रतिक्रिया