सोमबार, वैशाख २९, २०८२

सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०७९ कार्तिक २ गते १६:१८

काठमाडौं । सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार ठगी कार्यमा संलग्न भएको आरोपमा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ५६ बर्षिय मणी कुमार थापालाई पक्राउ गरिएको हो ।

कार्यालयका अनुसार अछामको चौरपाटी गाउँपालिका वडा नं ४ घर भई हाल ललितपुरको कुशुन्ती बस्ने नरेन्द्र कुमार भुललाई ललितपुरको महालक्ष्मी न.पा इमाडोल बस्ने थापाले आफू काठमाडौंको चण्डोलस्थित चण्डोल बहुउद्ेश्यीय सहकारी संस्थाको सञ्चालक हुँ उक्त सहकारी संंस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाई दिन्छु भनी सहकारी संस्थाको खाता खोल्ने फारम, सदस्य पहिचान फारम, शेयर दरखास्त फारम समेत भर्न लगाई विश्वासमा पारेका दिए ।

सो पश्चात उक्त ऋण रकमको १० प्रतिशतको दरले हुन आउने तीन लाख रुपैयाँ र सेवा शुल्क बापत १२ हजार रुपैयाँ समेत गरी तीन लाख १२ हजार रुपैयाँ रकम लिई ऋण नदिलाई, झुक्याई ठगी गरी सम्पर्क बिहिन भएका थिए ।

सोही व्यहोरा उल्लेख गरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी प्राप्त भएको र सोही जाहेरीको आधारमा अनुसन्धान गर्दा उक्त सहकारी संस्था दर्ता नरहेको पाईएको थियो ।

सो पश्चात प्रतिवादी थापाको नाउँमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपश्चात यही असोज ३१ गते थापालाई ललितपुरको महालक्ष्मी न.पाको इमाडोलबाट पक्राउ गरिएको हो । पक्राउ परेका थप कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको उक्त कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया