सोमबार, वैशाख २९, २०८२

लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर,आजदेखि बयान

नेपालखोज २०७९ कार्तिक १५ गते ६:५०

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो । प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो । मुद्दामा अब मङ्गलबारदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जबर्जस्ती करणीमा सन्दीपलाई १० देखि १२ वर्षसम्मको अधिकतम सजाय माग दाबीसहित मुद्दा दायर भएको बताए । नेउपानेले भने, ‘हामीले मुद्दा दर्ता गरेका छौँ। जबर्जस्ती करणी कसुरमा अधिकतम १२ वर्षसम्म सजायको माग गरिएको छ। क्षतिपूर्ति भराउन माग पनि गरिएको छ। अब अदालतमा बयान र थुनछेकको प्रक्रिया प्रारम्भ हुनेछ।’

मुद्दामा सन्दीपले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान, काठमाडौँ र नगरकोटको होटलको सीसीटीभी फुटेज, पीडितको स्वास्थ्य जाँच प्रतिवेदनलगायतलाई प्रमाणका रूपमा पेस गरिएको छ । सन्दीपले अधिकार प्राप्त अधिकारीसमक्षको बयानमा जबर्जस्ती करणी भने इन्कार गरेका छन् । अन्य परिस्थितिजन्य प्रमाणलाई पनि आधार लिइएको छ ।

सरकारी वकिलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को खण्ड (घ) अनुसारको सजाय दाबी गरेको छ। जसमा १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेर समूहका करणी कसुरमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ। पीडित युवतीको उमेर सोही उमेर समूहको रहेकाले सन्दीपलाई कसुर ठहर भएमा कम्तीमा १० वर्ष कैद सजाय हुनेछ ।

प्रतिक्रिया