राजीव गान्धी हत्याकाे ३२ वर्षपछि जेल मुक्त भएकी नलिनी के भन्छिन् ?

काठमाडाैं । पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहर भएकी नलिनी ३२ वर्षपछि जेलबाट रिहा भएकी छन् । सर्वोच्च अदालतले उक्त मुद्दामा आजीवन कारावासको सजाय भोगिरहेकी नलिनी र आरपी रविचन्द्रनलगायत सबै दोषीलाई रिहा गर्न आदेश दिएको थियो । यो आदेश आएको एक घण्टा नबित्दै नलिनी बाँकी दोषीसहित जेलबाट मुक्त भएकी थिइन् ।
यी छ जना दोषी मध्ये चार जना सन्थान, मुरुगन, जयकुमार र रोबर्ट पायस श्रीलंकाका थिए जसलाई विशेष शिविरमा लगिएको थियो । बीबीसीसँगको विशेष कुराकानीमा उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नलिनीले अब आफ्नो परिवारलाई एकताबद्ध तथा पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेतर्फ ध्यान दिने बताइन् । नलिनीलाई आत्मघाति हत्या समूहको सदस्य भएको आरोपमा दोषी पाइयो र यसमा अन्य तीन जना दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
यद्यपि सोनिया गान्धीको अपीलपछि नलिनिको सजायलाई आजीवन कारावासमा परिणत गरियो । त्यसपछि उनी रिहाइका लागि कानुनी लडाइँ लड्दै आएकी थिइन् । जेल जानुअघि यी सबै कुरा आफूलाई केही थाहा नभएको नलिनी बताउँछिन्, – रिमाण्डमा लिएर छुट्टै कक्षमा राख्दा म निकै डराएकि थिएँ । म धेरै रोएँ । कोलाहल मच्चियो । म बाहिर दौडिएँ । अधिराइ र मेरी आमा नजिकैको कोठरीमा थुनिएका थिए, उनीहरू पनि निकै डराए । मेरो अवस्था देखेर उनीहरु पनि रुन थाले । मैले राइफल बोकेका सीआरपीएफका जवानहरूलाई भने कि उनीहरूले हामीलाई गोली हानेको भए राम्रो हुन्थ्यो । नलिनी भन्छिन्, ‘म यति धेरै चिच्याएँ कि मेरो घाँटीबाट रगत निस्कन थाल्यो । त्यो धेरै कठिन समय थियो । जब म पक्राउ परें, म ज्वरोले थलिएँ , ओछ्यानबाट उठ्न पनि सकिनँ । मलाई दुई दिन सुत्न दिएनन् । मसँग त्यस्तो परिस्थितिको सामना गर्ने साहस थिएन । म कपाल नकोरी बस्थे । जब अवस्था सुधार हुँदै गयो, मेरो छाती दुख्न थाल्यो । धेरैले म अभिनय गर्दैछु भन्ने सोचेका थिए तर डाक्टरले जाँच गर्दा त्यो गुनासो सत्य ठहर भयो ।
केही समयपछि स्थितिमा केही सुधार आयो । त्यही क्रममा कोडियाक्कराई षणमुगमको मृत्यु भयो । जेल प्रशासनले हामीलाई हथकडी लगाउन थाल्यो । चुरा लगाउने कार्यक्रम सुरु भएछ भनेर मैले हाँसो पनि गरे । जब टाडा अदालतले २८ जनालाई मृत्युदण्डको सजाय सुनायो, त्यसमा उनको नाम सबैभन्दा माथि थियो । त्यो देखेर उनी छक्क परिन् । नलिनि भन्छिन्, ‘मैले अपराध गरेको हो भनेर कबुल गरेकि छैन, तर अदालतमा प्रमाणित गर्न सकिन । फैसलापछि मलाई अर्को कक्षमा सरुवा गरियो । हामीलाई मृत्युदण्डका कैदीहरूलाई राखेझैँ राखिएको थियो । त्यसको केही समयपछि मैले छोरीलाई जन्म दिए ।
चीजहरू केहि राम्रो हुँदै गए । नलिनी पक्राउ पर्दा उनी करिब दुई महिनाकी गर्भवती थिइन् । उनी पक्राउ परे लगत्तै उनका श्रीमान्, आमा र भाइ पनि पक्राउ परेका थिए । नलिनीले आफ्नो परिवार आर्थिक रुपमा बलियो नभएका कारण अवस्था बिग्रिएको बताइन् । राजीव गान्धीको हत्याका क्रममा अन्य १६ जनाले पनि ज्यान गुमाएका थिए । उनीहरुका आफन्तले दोषीलाई रिहा गरिएकोमा कडा विरोध जनाइरहेका छन् । नलिनी भन्छिन्, ‘मलाई उनीहरूको परिवारप्रति दुःख छ । मलाई थाहा छैन उनीहरुले आफ्नो परिवारका सदस्य गुमाए बापत कुनै आर्थिक सहयोग पाएका छन कि छैनन् ? यो वास्तवमै उनीहरूका लागि ठूलो घाटा हो । मलाई लाग्छ घरको टाउको गुमाउनु साँच्चै ठूलो क्षति हो तर उनीहरूले हाम्रो स्थिति पनि बुझ्नुपर्छ ।’ नलिनी भन्छिन्, ‘मलाई निकै नराम्रो लाग्छ । १७ जना मार्नुको पछाडि मेरो नियत के हुन सक्छ ? यसको आवश्यकता के छ ? के म शिक्षित छैन ? उनीहरुलाई मारेर मैले जीविकोपार्जन गर्नुपर्छ र ? उनी आफैं जवाफ दिन्छिन्, ‘त्यस्तो केही होइन । मलाई उनीहरुको नाम पनि थाहा छैन तर उनीहरुलाई मारेको अपराधमा मलाई दोषि बनाइएको छ । यो हाम्रो दुर्भाग्य मात्र होइन । हामीले तिनीहरूलाई कहिल्यै देखेका छैनौं । उनीहरुलाई हानि पुर्याउने सोच पनि थिएन । मलाई लाग्छ कि उनीहरूले यो कुरा बुझ्नुपर्छ ।’
हत्यामा संलग्न व्यक्तिहरू थाहा पाएपछि नलिनी भन्छिन्, ‘उनीहरू त्यस्तो देखिएनन् । सायद त्यतिबेला म त्यति समझदार थिइनँ भन्न सकिन्छ । म धेरै व्यस्त थिएँ । म पढ्दै थिएँ, काम गर्दै थिए, पढाइका लागि जान्थे । कक्षा सकिएपछि रातको ११ बजे मात्रै सुत्न सकिन्थ्यो । यो दिनचर्यामा मैले त्यस्तो कहिल्यै सोचिन । नलिनी भन्छिन् – जब उनको मृत्युदण्ड खारेज भयो, बाँकी मानिसहरूको आशा बढ्यो । यद्यपि यसअघि उनलाई फाँसी दिने सातवटा घोषणा भइसकेको थियो । त्यसमा पनि चार पटक त मिति नै तय भएको थियो । एक जना धर्मगुरु उनको अन्तिम इच्छा जान्नसमेत आए । सबै तयारी पूरा गरियो । फाँसीको डोरी पनि तयार भयो, कैदीलाई फाँसी दिने कोठरी पनि तयार भयो । उनीहरुको तौल पनि लिइयो र सोही तौलको बालुवाको बोरा झुण्डाएर रिहर्सलसमेत गरियो ।
नलिनी भन्छिन्, ‘यो सब मेरो आँखा अगाडि भयो तर मैले कहिल्यै आशा छोडिन । मैले सोचें, मैले केही गल्ती गरेकि छैन, त्यसैले मलाई केही नराम्रो हुनेछैन ।’ अब आफ्नो रिहाइ पछि फेरि नयाँ जीवन सुरु गर्ने अवसर पाएकि नलिनीले आशा व्यक्त गरिन्, ‘म मेरो श्रीमान् र छोरीसँग बस्न चाहन्छु । म परिवारलाई एकताबद्ध गर्न चाहन्छु ।’ मे २१, १९९१ मा, तमिलनाडुको चेन्नई नजिकैको श्रीपेरुम्बदुरमा चुनावी र्यालीमा धनु नामक LTTE आत्मघाती बम आक्रमणकारीले राजीव गान्धीको हत्या गर्यो । उक्त आत्मघाती हमलामा राजीव गान्धी र आक्रमणकारी धनुसहित १६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए । यो मुद्दामा ट्रायल कोर्टले २६ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको थियो तर, मे १९९९ मा सर्वोच्च अदालतले १९ जनालाई सफाइ दियो । बाँकी सात जना अभियुक्तमध्ये चार जना (नलिनी, मुरुगन उर्फ श्रीहरन, सन्थान र पेरारिवलन) लाई मृत्युदण्ड तथा बाँकी (रविचन्द्रन, रोबर्ट पायस र जयकुमार) लाई जन्मकैदको सजाय सुनाइएको थियो । चारै जनाको दया याचिकामा तमिलनाडुका गभर्नरले नलिनीको मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गरेका थिए । बाँकी अभियुक्तको दया याचिका २०११ मा राष्ट्रपतिले खारेज गरेका थिए ।
यी सबै अभियुक्तहरू आफूलाई समयअघि रिहा गर्न माग गर्दै लामो कानुनी लडाइँ लड्दै आएका थिए । तमिलनाडु सरकारले उनीहरूलाई समय अगावै रिहा गर्न गभर्नरलाई सिफारिस गरेको थियो तर, गभर्नरले उक्त सिफारिस स्वीकार गर्न अस्वीकार गर्दै फायल राष्ट्रपतिसमक्ष पठाएका थिए । जूनको सुरुमा, नलिनी र रविचन्द्रनले मद्रास उच्च अदालतमा रिट याचिका दायर गरे र उनीहरूलाई रिहा गर्न तमिलनाडु सरकारलाई निर्देशन दिन माग गरे ।
त्यसमा उनको रिहाइका लागि सेप्टेम्बर २०१८ मा मन्त्रिपरिषद्ले गरेको सिफारिसलाई गभर्नरको स्वीकृतिबिना कार्यान्वयन गर्न भनिएको थियो । नलिनीको रिहाईका आधार पेरारिवलन मे १८ मा रिहा भएका थिए । अदालतले संविधानको धारा १४२ मा दिइएको असाधारण अधिकार उल्लेख गर्दै पेरारिवलनलाई रिहा गरेको हो । पेरारिवलनले राजीव गान्धी हत्याकाण्डमा ३० वर्ष आजीवन कारावासको सजाय भोगेका थिए । स्रोत : बीबीसी
प्रतिक्रिया