आइतबार, जेठ ५, २०८२

फ्लाइङ ट्याक्सीको व्यवसायिक प्रोटोटाइप लन्च गर्ने याेजनामा मद्रासको स्टार्टअप ई-प्लेन कम्पनी

नेपालखोज २०७९ मंसिर ६ गते १०:०२

काठमाडाैं । अबको समय आकाशमा उड्ने कारहरूको हुनेछ । सामान ढुवानी सडकमा नभई हवाई मार्गबाट ​​हुनेछ । कम्प्याक्ट फ्लाइङ इलेक्ट्रिक ट्याक्सी आगामी समयमा वास्तविकता हुन सक्छ । आईआईटी (IIT) मद्रासको स्टार्टअप ई-प्लेन कम्पनीले अर्को वर्षसम्म फ्लाइङ ट्याक्सीको व्यवसायिक प्रोटोटाइप लन्च गर्ने योजना बनाएको छ ।

आईआईटी मद्रासका प्रोफेसर सत्य चक्रवर्ती तथा पूर्व छात्र प्रान्जल मेहताको नेतृत्वमा रहेको ई-प्लेन कम्पनीले ई २०० ( e200 )भनिने इलेक्ट्रिक फ्लाइङ ट्याक्सीको प्रोटोटाइपमा काम गरिरहेको छ । यसलाई सन् २०२४ सम्ममा व्यवसायिकरण गर्ने योजना छ । ई २०० ले उडान र अवतरण गर्न सक्छ । यो अधिकतम २०० किलोग्राम लोड क्षमता र २०० किलोमिटरसम्मको दूरी छिचोल्ने दुई सिट भएको विमान हो । यसमा प्रोपेलरका दुई सेट हुन्छन् ।

एउटा सेटले यसलाई अवतरण गर्न सघाउँछ भने अर्कोले यसलाई अगाडि बढाउन मद्दत गर्छ । प्रोफेसर सत्य चक्रवर्तीले आफूहरू अहिले ई २०० एसेम्बल गरिरहेको र यसको डिजाइन पूरा गर्ने प्रक्रियामा भएको बताएका छन् । यसको निर्माण छिट्टै सुरु हुनेछ भन्दै चक्रवर्तीले भवनको छानासम्म पुग्न सक्ने गरी संसारकै सबैभन्दा कम्प्याक्ट विद्युतीय सवारी (उडान ट्याक्सी) बनाउने आफ्नो योजना रहेको जानकारी दिएका छन् ।

मिडिया रिपोर्टहरूका अनुसार, वर्ष २०२२को सुरुमा ई-प्लेन कम्पनीले स्पेशल इन्भेष्ट र मिशेलियोको नेतृत्वमा प्रि-सिरीज ए राउन्डमा ५ मिलियन युएस डलर उठाएको थियो । यो स्टार्टअपले कम्प्याक्ट इलेक्ट्रिक टेक-अफ र ल्यान्डिङ विमानको प्रोटोटाइप बनाएको छ, जसलाई ई६ (e6) भनिन्छ । यसले ६ किलो सम्मको भार उठाउन सक्छ । यसको उडान क्षमता ८० किलोमिटर छ र यो कार्गो यातायातका लागि उपयुक्त छ । ई-प्लेन कम्पनीले ई५० (e50 ) नामक अर्को प्रोटोटाइपमा पनि काम गरिरहेको छ, जसले ५० किलोसम्म तौल बोक्न सक्छ । आगामी वर्षदेखि यसलाई व्यवसायिकरण गर्ने योजना छ ।

इप्लेन कम्पनीका सह-संस्थापक सत्य चक्रवर्तीले हाल स्केल-डाउन प्रोटोटाइपको परीक्षण गरिरहेको र अर्को वर्षको सुरुमा आफ्नो पहिलो कार्गो विमान तयार हुने आशा राखेको बताए । यो कार्गो विमान सन् २०२३ को फेब्रुअरीसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ भने यात्रुवाहक विमान सन् २०२४ डिसेम्बरसम्म सञ्चालनमा आउने अपेक्षा छ । सरकारी नियमहरूले दुई इन्जिन भएको हेलिकप्टरलाई मात्र छतमा अवतरण गर्न अनुमति दिन्छ ।

द इप्लेन कम्पनीका सबै विमानमा हेलिकाेप्टरजस्तै टेक अफ र ल्यान्डिङ प्रविधि छ । यो विमान हाल विद्युतीय सवारीसाधनले प्रयोग गर्ने परम्परागत चार्जिङ प्रविधि प्रयोग गरेर नै चार्ज गर्न सकिन्छ । यसले फ्ल्यास चार्जिङ विकल्पमा पनि काम गर्छ ।

प्रतिक्रिया