खाली कागज : चीनमा ऐतिहासिक विरोधको हतियार

चीनमा गएको शनिबार र आइतवार विरोध प्रदर्शनहरु भएका थिए l जसमा मानिसहरूले राष्ट्रपति सी जिन्पिङको विरुद्धमा नारा लगाए अनि कोभिडका कारण लगाइएको प्रतिबन्ध हटाउन माग गरे । सोमबार बिहान शाङ्घाई , बीजिंगलगायत अनेकौं शहरका यी प्रदर्शन पछि, प्रहरीले मानिसहरूलाई फेरि प्रदर्शन गर्न नदिन विभिन्न उपाय अपनायो । उक्त प्रदर्शनीमा विश्वविद्यालयका विद्यार्थीहरु समेत सहभागी थिए । शंघाई स्थित एक कलेजका विद्यार्थी जेसन सनले भने, “हामी मानिसहरूको अधिकार, उनीहरूको स्वतन्त्रता र जीविकोपार्जनमा लगाइएका प्रतिबन्धहरूको विरोध गर्छौं।”
सोमबार कुनै पनि प्रदर्शनको संकेत थिएन, तर बीजिंग र शाङ्घाईमा जताततै प्रहरी तैनाथ गरिएको थियो। ती प्रहरीहरू मानिसहरूको फोन जाँच गर्दै थिए र तिनीहरूको फोनमा भीपिएन (VPN )वा टेलिग्राम एप इन्स्टल (स्थापना) गरिएको छ कि भनेर जाँच गर्दै थिए। भीपिएन चीनमा आम मानिसहरूका लागि अवैध छ। देशमा टेलिग्राम एप पनि रोकिएको छ ।
जनताको यो आक्रोशका सम्बन्धमा विदेशमन्त्री झाओ लिजियान भन्छन , त्यस्तो केहि भएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले चिनियाँ जनताको सहयोग र समर्थनमा कोभिड–१९ को महामारीलाई जित्ने प्रयास गरिरहेको छ । कोभिड विरुद्धको हाम्रो लडाइ सफल हुनेछ ।
किन प्रदर्शन हुँदैछ चिनमा ?
२०१९ मा कोभिड सुरु भएदेखि चीनले यो संक्रामक रोगको फैलावट रोक्न भन्दै कडा प्रतिबन्धहरु लागु गरेको छ। त्यहाँ शून्य कोविड नीतिको आडमा कोभिडको एउटा केस प्राप्त भए पनि पूरै शहरमा लकडाउन लगाइन्छ । यसको फाइदा के भयएको छ भने चीनमा कोविडका कारण मर्नेहरुको संख्या हजारौंमा रह्यो भने अमेरिका, भारत जस्ता देशमा लाखौंको मृत्यु भयो । विज्ञहरू भन्छन्-यी प्रतिबन्धहरूको एउटा परिणाम जनजीवन नराम्रो सँग दुस्प्रभावित हुनु हो ।
मानिसहरूले आफ्नो जीविकोपार्जन गुमाएका छन् र धेरै पटक उनीहरूलाई कारखाना वा अन्य परिसरमा धेरै दिनसम्म तालाबन्दीमा राखिएको छ । गत महिना बीजिंगको डिज्नी पार्क यहि आधारमा बन्द गरिएको थियो । त्यहाँ हजारौं मानिस फसेका थिए। त्यसपछि मानिसहरु त्यहाँको पर्खाल हाम फालेर भागिरहेका तस्विरहरु पनि सार्वजनिक भए ।
राष्ट्रपति सी जिनपिङ शून्य-कोविड नीतिलाई लिएर निकै कडा रुपमा प्रस्तुत भैरहेका छन्, त्यसैले प्रदर्शनकारीहरूले उनैलाई निशाना बनाएका छन् र कतिपयले उनको राजीनामा समेत मागेका छन्, जुन चीन जस्तो अधिनायकवादी शासनमा कुनै पनि राष्ट्रपतिका लागि अद्वितीय र दुर्लभ छ ।
यस बिच उरुम्चीमा भएको एउटा घटनाले प्रदर्शनको यो लहरलाइ तिब्र बनाएको छ । उक्त घटनामा खानीमा फसेका १० जनाले ज्यान गुमाएका थिए भने धेरैले कोभिड नीतिका कारण उनिहरुलाई बचाउने उचित प्रयास हुन नसकेको बताएका थिए । यसले जनतालाई आक्रोशित बनाएर सडकमा उत्रिन बाध्य तुल्यायो ।
खाली कागजको महत्व
चीनमा अहिले भैरहेको प्रदर्शनीको तस्विर तथा भिडियोहरुमा मानिसहरुले हातमा सेतो सादा कागजको पन्ना बोकेको देखिन्छ । यी आन्दोलनकारीहरुले यहि श्वेतपत्र लिएर मौन प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुलाई समर्थन जनाउन धेरैले खाली पानाका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
चिनियाँ प्रदर्शनकारीहरूले आफ्नो विचार व्यक्त गर्न श्वेतपत्र प्रयोग गरेको यो पहिलो अबसर भने होइन । चीनमा यो श्वेतपत्र जनताको आवाज दबाउने कुराको प्रतीक बनेको छ । ती कागजमा केही नलेखिएकाले कानुनले कुनै टिप्पणी गरे बापत दिन सक्ने सजाय दिन सकिँदैन ।
सन् २०२० मा हङकङमा प्रजातन्त्रका पक्षधरहरुले प्रदर्शन गर्दा पनि कुनै नारा लेखिएको ब्यानरको सट्टा हातमा खाली कागज लिएर प्रदर्शन गरेका थिए । हङकङको चाइनिज युनिभर्सिटीका राजनीतिक विज्ञानका सह-प्राध्यापक एनगोकले एपीलाई भनेका छन , “उनीहरूले खाली कागज देखाउँछन् किनभने यदि सरकारले उनीहरूलाई सजाय दिन चाहन्छ भने त्यो खालि कागजलाइ उनीहरूको विरुद्ध प्रयोग गर्न सकिँदैन । “त्यस्तै, मस्कोमा पनि रुसी सरकारको विरोधमा जनताले खाली कागज प्रयोग गरेका थिए ।
प्रदर्शनको प्रभाव
पश्चिमी मिडियाले चीनको सरकार विरोधी प्रदर्शनलाई निकै महत्त्व दिएका छन् । बीबीसीले आफ्ना एक संवाददातालाई कुटपिट गरी हिरासतमा लिइएको जनाएको छ । उनी हाल रिहा भैसकेका छन । अर्कातर्फ चीनको आधिकारिक मिडियामा यो विरोधको कुनै कुरा उल्लेख छैन र सम्पादकीय लेखहरू मार्फत मानिसहरूलाई कोभिड नियमहरूको पालना गर्न अनुरोध गरिएको छ।
चिनमा सप्ताहन्तमा भएका प्रदर्शनले विश्वको वित्तीय बजारमा पनि प्रभाव पारेको थियो र तेलको मूल्य घटेको थियो । अहिले यहि प्रदर्शनका कारण चीनको बजारमा गिरावट आएको छ भने युआनको मूल्य पनि घटेको छ । विश्लेषकहरू भन्छन्- मार्च अप्रिल अघि, चीन पूर्ण रूपमा खुल्ने सम्भावना धेरै कम छ । गैवकल ड्रैगोनोमिक्सका एक विश्लेषक लेख्छन् “यी प्रदर्शनहरूबाट वर्तमान शासनमा तत्काल कुनै खतरा छैन, तर यसको सन्देश स्पष्ट छ । चिनको कोविड नीति अब राजनीतिक रूपमा दिगो छैन। “
स्रोत : रोयटर्स एपी एएफपी
प्रतिक्रिया