नेपालमा मःम इतिहास

मःम मासुले भरिएको नेपाली परिकारको खान्की हो । व्यावसायिक रूपमा मोमो बेच्ने होटेलका पुराना तस्बिरहरू भेटिएको छैन । काठमाडौंका नेवार व्यापारीहरुको भोटमा व्यापार वृद्धि गर्दै पुगेपछि नेवारहरुको भोटको मोहमैको स्वाद जिब्रोमा त परेको थियो तर काठमाडौं भने भित्रिएको थिएन ।
बिस्तारै काठमाडौं उपत्यकामा बुहारीको रूपमा तिब्बती महिलाहरु भित्रिए । उनीहरुको साथ भोटको मोहमो केही घरमा पुग्यो । ठुलो आकारको यो मोहमो (तिब्बती लवजमा) काठमाडौंमा मोमो भयो । नेवारहरु जे मा पनि पछाडि चा लगाउँदा मोमो पनि मोमोचा (ममचा) भयो ।
व्यापारको रूपमा मोमो कहिलेबाट सुरु भयो भन्ने यकिन भएको छैन । राणाकालमा पनि मोमोको चर्चा कतै भेटिँदैन । शायद नेवारहरुको घरमा मात्र सिमित थियो होला । सयौं वर्ष देखि उपत्यकाका केही घरहरुमा पाक्ने थालेको मोमो पहिले आकारमा ठुलो हुने गर्दथ्यो । केहीले मोमोको सुरुवात नै उपत्यकामा भएको र तिब्बतमा नेपाली व्यापारीहरूले लगेको भन्ने गरेको देखिन्छ । यसमा कुनै पनि आधार देखिदैँन ।
काठमाडौं उपत्यकामा व्यावसायिक रूपमा मोमोको व्यापार कहिलेबाट भयो भन्ने यकिन तथ्य भेटिँदैन । तर २०१३ सालतिर ब्यापारी बालकृष्ण श्रेष्ठले रञ्जना सिनेमा हल खोले पनि खासै चल्न सकेको थिएन । २०१८ सालमा नजिकै रहेको जनसेवा हल जलेपछि रञ्जना सिनेमा हलमा निकै भिड हुन थाल्यो । यहि कम्पाउन्डमा २०२१ साल तिर रामकृष्ण श्रेष्ठ र चेतनारायण मानन्धरले मिलेर आरसी (रामकृष्ण चेतनारायण) मोमो खुलेको थियो ।
पोखरामा मोमोको प्रवेश तिब्बती शरणार्थीहरूको पोखरा प्रवेश सँगै भएको देखिन्छ । व्यापारिक रूपमा २०२०–२२ सालतिर तिब्बतीबाट नै होटेलमा मोमो बेचिएको भन्ने भेटिन्छ । त्यति बेला खसीको मोमो नै २ रुपैयाँ प्लेटमा बेचिएको भन्ने सुनिन्छ । पछि जुक्त काकाको ज्योति होटेलमा पनि मोमो बेच्न थालिएको थियो । यसरी हेर्दा पोखरामा व्यापारिक रूपमा मोमो बेच्न थालेको पनि पचास वर्ष भन्दा बढी भइसकेको छ । अहिले आम होटेलका मेनुमा मोमो राखिएको हुन्छ ।

तस्बिरमा २०४१ सालतिर खिचिएको भक्तपुरको यती मोमो पसल देख्न सकिन्छ । दोस्रो तस्बिर, नेपाली रेस्टुरेन्टमा पाइने मोमोका प्रकारहरु हुन् ।
प्रतिक्रिया