संसदमा महिला : कुन देशको स्थिति कस्तो ?

डिडब्ल्यु । विश्वका राष्ट्रिय संसदहरूको संस्था इन्टर पार्लियामेन्टरी युनियनका अनुसार हाल विश्वका चार सांसदमध्ये एकजना महिला छिन् । त्यस्तै, प्रत्येक पाँच मन्त्रीमध्ये एक जना महिला रहेको पार्लियामेन्टरी युनियनले जनाएको छ ।
चार सांसदमध्ये एक मात्र महिला :
विश्वका राष्ट्रिय संसदहरूको संस्था इन्टर पार्लियामेन्टरी युनियन (आईपीयू) ले हाल विश्वका चार सांसदमध्ये एक जना महिला रहेको बताएको छ । २०११ मा यो संख्या पाँच मध्ये एक थियो । आईपीयूको तथ्याङ्क अनुसार अहिले छ वटा देशका कम्तीमा आधा सांसद महिला छन् । यो मामिलामा रुवान्डा सबैभन्दा राम्रो स्थितिमा छ । त्यहाँ ६० प्रतिशतभन्दा बढी सांसद महिला छन् । यसबाहेक, क्युवाका करिब ५३ प्रतिशत सांसद तथा निकारागुआका करिब ५२ प्रतिशत सांसद महिला छन् । न्यूजिल्याण्ड, मेक्सिको तथा संयुक्त अरब इमिरेट्समा महिला र पुरुष सांसदको संख्या लगभग बराबर छ ।
लैङ्गिक समानता :
२००६ सम्म युएईको संघीय राष्ट्रिय परिषदमा महिला थिएनन् तर २०१९ मा राष्ट्रपतिले संसदमा लैङ्गिक समानता ल्याउन आदेश जारी गरे । त्यसपछि भने त्यहाँको अवस्था फेरियो ।
दक्षिण एशियाको अवस्था :
बंगलादेशका ३५० सांसदमध्ये २७७ पुरुष तथा ७३ महिला छन् , अर्थात् २०. ८६ प्रतिशत । भारतको लोकसभामा १५ प्रतिशत तथा राज्यसभामा १० प्रतिशत महिला छन् । पाकिस्तानमा २०.४७ प्रतिशत , नेपालमा ३३.०९ प्रतिशत तथा माल्दिभ्समा ४.६ प्रतिशत महिला सांसद छन् । यस हिसाबले नेपाल महिला प्रतिनिधित्वमा दक्षिण एशिया मै अग्रणि छ । सन् १९६० मा विश्वको पहिलो महिला प्रधानमन्त्रीका रुपमा महिलाले श्रीलंकाको नेतृत्व ग्रहण गरेकी थिइन् । विगत २५ वर्ष पछि पनि श्रीलंकामा ५ प्रतिशत मात्र महिला सांसद निर्वाचित भएका छन् ।
यमनमा एउटै महिला सांसद छैनन् :
आईपीयूका अनुसार यमनको संसदमा एउटै महिला सदस्य छैनन जबकि प्रशान्त महासागरको बीचमा रहेको देश भानुआटुमा एक जना मात्र महिला सांसद छिन ।
१० प्रतिशतभन्दा कम :
२० भन्दा बढी देशमा महिला सांसदको संख्या १० प्रतिशतभन्दा कम छ, उदाहरणका लागि नाइजेरियामा ३.६ प्रतिशत , कतारमा ४.४ प्रतिशत र इरानमा ५.६ प्रतिशत महिला सासंद छन । यसैगरी विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मध्येको एक जापानमा महिला सासंदको संख्या १० प्रतिशत मात्र छ ।
पाँच मन्त्रीमा एक महिला :
विश्वका प्रत्येक पाँच मन्त्रीमध्ये एकजना महिला छन् र उनिहरुलाई सामान्यतया स्वास्थ्य , परिवार , सामाजिक मामिला तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदमा बहुसंख्यक महिला नियुक्त गर्ने देशमा स्पेन, अल्बानिया, कोलम्बिया तथा रुवाण्डा छन् ।
प्रतिक्रिया