शुक्रबार, जेठ ३, २०८२

आज पोखरा अन्तर्राष्ट्रिय म्याराथन : १६ देशका धावक दौडिने

नेपालखोज २०७९ फागुन ६ गते ७:४०

काठमाडाैं । आज शनिबार पोखरामा आयोजना हुने १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावकले प्रतिस्पर्धा गर्दै छन् ।

नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्डलगायतका देशबाट धावकले नाम दर्ता गराएको म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । म्याराथनमा सातवटै प्रदेशबाट ३७ जिल्लाका धावकले सहभागिता जनाउने छन् ।

पोखरा रङ्गशालामा हुने सो म्याराथनलगायतका सबै विधामा गरी हालसम्म आठ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । यस वर्षको खुला म्याराथनमा १ सय ५० धावक सहभागी हुने बताइएको छ । महिलातर्फको हाफ म्याराथनमा ३५ धावक उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । यसैगरी १० किलोमिटर पुरुषतर्फको दौडमा एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् ।

पाँच किलोमिटर दौडमा ७० विद्यालयका छात्र र छात्रतर्फ क्रमशः १ हजार ६ सय जना तथा ६ सय जनाले नाम दर्ता गराएको पराजुलीले जानकारी दिए । ह्विलचेयरतर्फ ४७, दृष्टिविहीन दौडतर्फ ९० र ‘रन फर फन’तर्फ पाँच हजार जनाले नाम दर्ता गराएका छन् । म्याराथन (४२.१९५ किमी ) दौडका विजेताले ५ लाख , द्वितीयले ३ लाख र तृतीय हुने टोलीले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया