दोस्रो पटक केन्याली धावकले जिते पोखरा म्याराथनको उपाधि

कास्की । सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन्। पोखरामा आज सम्पन्न म्याराथन(४२.१९५) किमी दौडमा स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेण्डमा निर्धारिता दूरी पूरा गरी उपाधि रक्षा गरेका छन्। उनी यसअघि १६ औँ संस्करणमा पहिलो सहभागितामा च्याम्पियन बनेका थिए ।
अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेण्डमा पार गरेका थिए । उपाधिसँगै उनले पाँच लाख नगद पुरस्कार पाए । उपाधि विजेता स्टफेनले सुन्दर सहर पोखरामा आएर दुई पटक उपाधि जित्दा आफू खुःशी भएको बताए । पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै उनले गत वर्षको तुलनामा पुरस्कार राशी समेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिए ।
यसैगरी केन्याकै धावक जुलियस मोरियकीले दुई घण्टा २० मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी पार गरी द्धितीय बने। उनले नगद तीन लाख पुरस्कार पाए । नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय बन्न सफल हुँदै दुई लाख पुरस्कार पाए । श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेण्डमा पार गरे । केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै रु ३० हजार पुरस्कार पाए । म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
हाफ म्याराथनमा पुलिसका राजपुराको ह्याट्रिक यसैगरी पोखरा म्याराथन अन्तर्गतको महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाईले जितेका छन्। यसवर्षसँगै उनले पोखराको हाफ म्याराथनकोे उपाधिमा ह्याटिक पुरा गरेका छन । राजपुराले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गर्दैै च्याम्पियन बनेर एक लाख ५० हजार पुरस्कार पाए । उनले यसअघि विसं २०७७ र विसं २०७८ मा समेत उपाधि आफ्नो पोल्टामा पारेका थिए ।
सशस्त्र प्रहरीको एपिएफका बृन्दा श्रेष्ठले द्धितीय हुँदै रु एक लाख पुरस्कार पाए । उनले निर्धारित दौड एक घण्टा २६ मिनेट २८ सेकेण्डमा पुरा गरे । नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २६ मिनेट ४९ सेकेण्डमा दौड पूरा गरी तृतीय बन्दै रु ७५ हजार पुरस्कार प्राप्त गरे। नेपाल पुलिसका रेखा विष्टले एक घण्टा ३२ मिनेट चार सेकेण्डमा हाफ म्याराथन सम्पन्न गरी चौथो बने । उनले रु १५ हजार पुरस्कार पाए ।
यसैगरी १० किमी महिला दौडमा सशस्त्र प्रहरीका आशा राउत उपाधि जितिन् । उनले निर्धारित दूरी ५० मिनेट १२ सेकेण्डमा पुरा गरे। नेपाल प्रहरीका वृष्मा कुमाल द्धितीय र नेपाली सेनाका कल्पना खड्का तृतीय भइन्। पुरुष १० किमी दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम, सेनाकै सुवास कार्की द्धितीय र पाँचथरका दीपक सुहाङ तृतीय भए ।
महिला तथा पुरुष १० किमीको दौडका प्रथम,द्धितीय र तृतीयले समान क्रमश ३० हजार, २० हजार र १५ हजार पुरस्कार पाए । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । मुख्यमन्त्री अधिकारीले समेत पाँच किमी दौड पुरा गरेका थिए ।
प्रतिक्रिया