शनिबार, जेठ ४, २०८२

‘ए’ डिभिजन लिग : चर्च ब्वाइजको दोस्रो जित, थ्री स्टार र फ्रेन्ड्सबीचकाे खेल बराबरी

नेपालखोज २०७९ फागुन २३ गते २२:४४

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ ।

आज मङ्गलवार एन्फा मैदान सातदोबाटो ललितपुरमा भएको खेलमा अर्को नवप्रवेशी क्लब एफसी खुमलटारलाई तीन–एक गोलले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो । चर्च ब्वाइजका आशिष चापागाईँले दुई र एरिक विष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काए ।

याे जितसँगै दुई खेलमा छ अङ्क जोडेको चर्च ब्वाइज अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले पहिलो खेलमा पुलिस क्लबलाई हराएको थियो ।

आजै च्यासल मैदानमा भएको अर्को खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले तीन–तीन गोलको बराबरी खेलेका छन् । थ्री स्टारका लागि अजयी मार्टिन्स, याेगेश गुरुङ र प्रदीप लम्सालले गाेल गरे । फ्रेन्ड्सका लागि कुशल फुयाँलले २ र उक्तामाेभले १ गाेल गरे ।

‘ए’ डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया