‘ए’ डिभिजन लिग : जावलाखेल र एपीएफले बराबरी खेले, सङ्कटा र सातदोबाटो क्लब विजयी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेलेका छन् ।
दशरथ रङ्गशालामा भएको खेलमा एपीएफ र जावलाखेलले गोबलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । जावलाखेल ७ अङ्कसहित तेस्रो स्थानमा छ भने एपीएफले ४ अङ्क जोडेको छ । आज भएको अर्को खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।
च्यासल मैदानमा भएको खेलमा सङ्कटाले पुलिसलाई ३–० गोलले हरायो । सङ्कटाको जितमा गणेश हमाल, रोशन ठकुरी र सुरज ज्यू ठकुरीले एक÷एक गोल गरे । पुलिस क्लबको यो लगातार तेस्रो हार हो । सङ्कटाको भने पहिलो जित हो ।
आजै भएको तेस्रो खेलमा सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोलले हराएको छ । सातदोबाटोको जितमा दीपकराज ठकुरीले गोल गरे । सातदोबाटो तीनवटै खेल जितेर दोस्रो स्थानमा छ । फ्रेन्ड्सले तीन खेलमा जम्मा एक अङ्क जोडेको छ ।
प्रतिक्रिया