आइतबार, जेठ ५, २०८२

आइसिसी विश्वकप क्रिकेट लिग–२ : टिकटबाट उठेको पैसा खेलाडी कोषमा जम्मा गरिने

नेपालखोज २०७९ चैत २ गते ७:४७

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । नेपाल र युएइसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको स्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ ।

उनले भने, ‘कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्या परेका खण्डमा उक्त कोषबाट खर्च गर्छौं, यसले खेलाडीलाई समस्या परेका बेला सहायता गर्न सहज हुन्छ ।’ लिग–२ कै अन्तिम तथा महन्वपूर्ण खेलमा नेपालले आज युएइसँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न उक्त खेल जित्नैपर्ने दबाब छ ।

क्यानका अनुसार आजका खेलका लागि बुधबार अबेरसम्म सम्पूर्ण टिकट बिक्रि भइसकेको छ । लिग टु मा नेपालको ३५ खेलबाट ३८ अङ्क रहेको छ । भोलिको खेल जिते नेपाल शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ ।

प्रतिक्रिया