एमालेले शनिवार उम्मेदवार टुंगो लगाउने, रास्वपाले के गर्छ ?

काठमाडौं । वैशाख १० मा हुने उपचुनावका लागि नेकपा एमालेले शनिवार उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । चितवन २, बारा २ र तनहुँ १ तीनवटै क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।
चैत १७ गते शुक्रवारसम्म जिल्लाबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस हुने र १८ गते सचिवालय बैठक बसेर तीनवटै क्षेत्रका उम्मेदवार तय गरिने उपमहासचिव विष्णु रिमालले जनाए ।
उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । बारा २ मा जसपाका उपेन्द्र यादव र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ ।
त्यस्तै तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ । बारा २ मा जनमत पार्टीले शिवचन्द कुशवाहलाई उम्मेदवार बनाउँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा एक्लै उम्मेदवार उठाउने तयारी गरेको छ । चितवन २ मा पुनः पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने निश्चित प्राय छ । तनहुँ १ र बारा २ मा सरप्राइज उम्मेदवार उठाउने तयारी गरिएको रास्वपाले जनाएको छ ।
प्रतिक्रिया