सोमबार, जेठ ६, २०८२

वेष्ट इन्डिजले पनि विश्वकप छनोट खेल्नुपर्ने

नेपालखोज २०७९ चैत २० गते ८:४२

काठमाडौं । आइतबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई १ सय ४६ रनले पराजित गर्दै दक्षिण अफ्रिका सुपर लिगको आठौं स्थानमा उक्लिएपछि वेष्ट इन्डिजले विश्वकपको छनोट प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । वेष्ट इन्डिज यसरी छनोटमा पर्ने मुलुकमा श्री लंका पछि दोस्रो भएको छ ।

नेदरल्याण्ड्सलाई हराएसँगै दक्षिण अफ्रिकाले ९८ अंक जोडेको छ भने आयरल्याण्डको ६८ अंक छ । आयरल्याण्डले अब बंगलादेशसँग तीन खेलको श्रृंखला खेल्न बाँकी छ । आयरल्याण्ड ती मध्ये कुनै एक खेलमा पराजित भए दक्षिण अफ्रिका शीर्ष आठमा रहँदै सिधै विश्वकपमा छनोट हुनेछ ।

त्यसैले बंगलादेश र आयरल्याण्डबीच हुने सिरिजपछि मात्र सिधै विश्वकप खेल्ने थप एक देसको निर्णय हुनेछ । सुपर लिगका १३ टिममध्ये शीर्ष ८ टिमले सिधै विश्वकप खेल्नेछन् भने पुछारमा रहने पाँच टिमले विश्वकपको छनोटमा प्रतिस्पर्धा गर्नुपर्नेछ । यसरी छनोट खेल खेल्ने सुपर लिगका देसमा वेष्ट इन्डिजसँगै, श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्स छन् । विश्वकप छनोट आगामी जुन-जुलाईमा जिम्बावेमा संचालन हुनेछ । विश्वकप छनोटमा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् जसमा चार टेष्ट राष्ट्र हुनेछन् ।

यो छनोटका बिजेता तथा उपबिजेताले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपको टिकट प्राप्त गर्नेछन् । विश्वकप छनोटमा सुपर लिगका पाँच टिम , आईसीसी क्रिकेट विश्वकप लिग टु का शीर्ष तीन टिम तथा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम गरी १० टिम सहभागी हुनेछन् । लिग टु को शीर्ष तीनमा रहँदै नेपाल सहित स्कटल्याण्ड र ओमान विश्वकपको छनोटमा स्थान पक्का गरिसकेका छन् । हाल नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट थप दुई टिमको टुङ्गो लाग्नेछ ।

लिग टु को पुछारमा रहेका चार टिम नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीसहित च्यालेन्ज कपको शीर्ष दुई टिम क्यानडा र जर्सीसहित ६ टिमले उक्त प्लेअफ क्वालिफायर खेलिरहेका छन् । सुपर लिगको शीर्ष ८ मध्ये ७ मा रहने भारत , न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् । अब एक स्थानका लागि दक्षिण अफ्रिका र आयरल्याण्डबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया