आइतबार, वैशाख २८, २०८२

ट्रम्पमाथिको आपराधिक आरोप के हो ?

नेपालखोज २०७९ चैत २२ गते १७:१९

न्यूयोर्कमा व्यापारिक रेकर्डहरूमा गलत जानकारी फाइल गर्नु सानो गल्ती हो। यसका लागि कुनै सजाय छैन तर यही गल्तीका आधारमा अन्य कुनै अपराध भयो भने त्यो गम्भीर मुद्दा बन्छ । त्यसपछि यो त्यस्तो अपराधको वर्गमा आउँछ जसका लागि कम्तिमा एक वर्षको जेल सजाय हुन्छ । अभियोजन पक्षले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि यस्तै आरोप लगाएको छ । मंगलबार म्यानहट्टन अदालतमा ट्रम्पविरुद्ध ३४ आपराधिक धारा अन्तर्गत अभियोग लगाइएको थियो ।

कसरी फसेँ ट्रम्प ?

यो घटना २०१६ मा चलेक‍ो ट्रम्पको राष्ट्रपति चुनाव अभियान सँग जोडिएको छ । चुनावी अभियान अघि उनका वकिल माइकल कोहेनले एक पोर्न स्टारलाई ट्रम्पको छवि जोगाउन १ लाख ३० हजार डलर भुक्तानी गरेका थिए । यो पैसा पोर्न स्टार स्टर्मी डेनियललाई चुप लागेर बस्न भनि दिइएको थियो । स्टर्मी डेनियलले ट्रम्पले आफूसँग सन् २००७ मा यौन सम्पर्क गरेको दाबी गरेकी छिन् । चुनावी अभियानका क्रममा यो मुद्दा उठ्यो भने ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारा दिने नेतालाई नोक्सान हुन सक्ने ट्रम्पका अभियन्ताहरुलाई डर थियो।

यो भुक्तानी कानुनी शुल्कका रूपमा ट्रम्पको परिवारको घर जग्गा कम्पनीको व्यापार रेकर्ड गरिएको थियो। चुनावी प्रचारका क्रममा दाबी प्रभावित नहोस् भनेर व्यवसायिक अभिलेखमा यो गलत सूचना भरिएको अभियोजन पक्षको आरोप छ । यो नियमको उल्लङ्घन हो।

चुनावी प्रचारका क्रममा निश्चित वस्तुका लागि तोकिएको खर्च सीमाभन्दा १ लाख ३० हजार डलर बढी रहेको अभियोजन पक्षले जनाएको छ त्यसैले २०१८ मा कोहेन फेडरल क्याम्पेन फाइनेन्स लको उल्लङ्घनका लागि दोषी ठहरिए । त्यसपछि पनि अनुसन्धान जारी रह्यो र के पत्ता लाग्यो भने राष्ट्रपति बनेपछि पनि ट्रम्पले कोहेनलाई थुप्रै चेक दिएका थिए । ती चेक ट्रम्पको सम्पत्ति ह्यान्डल गर्ने ट्रस्ट र व्यक्तिगत बैंक खाताका थिए अनि ती चेकलाई “कानूनी शुल्क” का रूपमा ब्याख्या गरिएको थियो । अनुसन्धानका क्रममा कोहेनले भने – बास्तबमा ती चेकहरू स्टोर्मी डेनियललाई दिइएको भुक्तानी थियो ।

निर्दोष भएकाे ट्रम्पकाे दाबी

पाँच वर्ष देखि कहिले तिब्र त कहिले सुस्त गतिमा चलेको अनुसन्धान पछि अभियोजक पक्षले अन्ततः ट्रम्पलाई अदालतमा पुर्याएरै छाडयो । सुरुमा अदालतमा हाजिर हुन नचाहेका र आफ्ना समर्थकहरूलाई अमेरिकाको पक्षमा उभिन आग्रह गरेका ट्रम्प अन्ततः अप्रिल ४ मा अदालतमा हाजिर भए । अमेरिकामा राष्ट्रपति भैसकेका व्यक्ति फौजदारी मुद्दामा अदालतमा हाजिर भएको यो पहिलो घटना हो । प्रतिरक्षा र अभियोजन पक्षको जिरहका क्रममा ट्रम्पले आफ्नो दोष स्वीकार गर्न अस्वीकार गरे।

ट्रम्प तथा उनका रिपब्लिकन समर्थकहरूले यो अभियोग राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाउँदै आएका छन् । यता अमेरिकामा सन् २०२४ मा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले फेरि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् । उनको टिमले यो अदालती कारबाही ट्रम्पको चुनावी अभियानलाई कमजोर तुल्याउन मात्र संचालन गरिएको बताएको छ ।

ट्रम्पविरुद्धको अभियोग कति बलियो ?

यो मुद्दासँग कुनै पनि हिसाबले नजोडिएका कानुनविद्हरुका अनुसार पूर्वराष्ट्रपतिविरुद्धको यो आरोप खासै बलियो देखिँदैन । अहिलेसम्म कुनै ठोस प्रमाण सार्वजनिक गरिएको छैन जुन निर्णायक हुन्छ । अभियोग अन्तर्गत लगाइएका ३४ वटा धारामा अपराध र तीसँग सम्बन्धित खास बुँदाहरू समेत उल्लेख गरिएको छैन।

म्यानहट्टन जिल्ला अधिवक्ताको कार्यालयका पूर्व अभियोजक मार्क बेडेरो भन्छन्,’मैले उनीहरूसँग स्पष्ट, सटीक र विश्वासयोग्य तार्किक कुराको अपेक्षा गरेको थिएँ जसले अपराध लुकाउने उद्देश्य के थियो, अपराध के थियो र यो कसरी गरिएको थियो भनेर वर्णन गर्दछ। यो मुद्दामा ती चीजहरू यहाँ देख्नपाइदैन्।’ डिस्ट्रिक्ट अटर्नी अफिसका अर्का पूर्व सदस्य जेरेमी साल्यान्डका अनुसार अभियोजकहरूले धेरै होसियार हुनुपर्दछ किनभने ‘उनीहरूलाई थाहा छ कि उनीहरूले यो मुद्दामा धेरै लामो यात्रा तय गर्न बाँकी नै छ।’

ट्रम्पको उम्मेदवारी के हुनेछ ?

अदालतको कारबाहीपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल वेबसाइटमा लेखेका छन्, ‘कुनै पनि काम गैरकानूनी रूपमा गरिएको छैन। अमेरिकामा पोर्नस्टारसँग यौनसम्पर्क राख्नु र उनीहरूलाई चुप लगाउन पैशा दिनु गैरकानूनी काम होइन तर फेडरल क्याम्पेन फाइनान्स ल अनुसार वित्त कानून अन्तर्गत बनाइएको प्रक्रियामा यो जानकारी लुकाउनु कानुन उल्लङ्घनको दायरामा आउन सक्छ। धेरै विश्लेषकहरूले डोनाल्ड ट्रम्पले यो मुद्दा मार्फत आफूलाई फाइदा पुर्‍याउने प्रयास गरिरहेको पनि महसुस गरेका छन्।

उनले अमेरिकालाई बचाउने नेतालाई विपक्षीहरूले कसरी नष्ट गर्न सक्छन् भनेर देखाउन खोजिरहेका छन्। २०२४ को राष्ट्रपतीय निर्वाचनको अभियान केही महिना पछि नै सुरु हुन लागेको छ । म्यानहट्टन अदालतमा ट्रम्पका वकिलहरूले यो मुद्दा रद्द गर्ने वा लम्ब्याउने प्रयास जारी राख्नेछन्। न्यूयोर्कको नयाँ कानुनी सुधारका लागि अभियोजकहरूले ३५ दिनभित्र “डिस्कवरी” नामक अनुसन्धान प्रक्रिया पूरा गर्न आवश्यक छ।

यता बचाउ पक्षलाई ट्रायल अघि नै मुद्दा रद्द गर्न ४५ दिनको समय छ। अमेरिकी कानुनमा अदालतबाट दोषी ठहर भएका व्यक्तिले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन भन्ने कुरा उल्लेख छैन । यदि ट्रम्पले तेस्रो पटक राष्ट्रपति चुनाव लडे र जिते भने विशेषाधिकार अन्तर्गत उनी सजायबाट जोगिने छन्। –रोयटर्स, एपी तथा एएफपीको सहयोगमा

प्रतिक्रिया