सरकारी सहिछाप किर्ते मुद्दामा दोषी पूर्वसांसद खातुन जेल चलान

विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छिन् । एमालेबाट प्रदेश सभामा समानुपातिक सदस्य भएकी पूर्वसांसद गुलेफन खातुन लामो समयदेखि फरार थिइन् ।
खातुनले हिजो शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी थिइन् । आत्मसमर्पण गरेसँगै उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो ।
सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।
अदालतले खातुनले मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको घटनामा दोशि ठहर गरेको थियो ।
उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उच्चको विरुद्धमा सर्वोच्चमा दोहोर्यइ पाउँ भनी दिएको निवेदनमा पनि सर्वोच्चबाट निस्सा नपाएपछि उनको सांसद पद समेत खारेज भएको थियो ।
प्रतिक्रिया