शुक्रबार, वैशाख १२, २०८२

‘दैनिक २ हजारको परीक्षण नभए महामारी थेग्न सकिँदैन’

नेपालखोज २०७७ जेठ १८ गते १४:४९

सुर्खेत । भारतबाट गाउँ फर्कने नागरिकको संख्या बढेसँगै परीक्षणको दायरा बढाउनुपर्ने चिकित्सकको सुझाव छ । ‘अब दैनिक दुई हजार जनाको स्वास्थ्य परीक्षण गर्न सकिएन भने अवस्था भयावह हुन्छ, महामारीलाई थेग्न सकिँदैन,’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले भने, ‘समुदायसम्म कोरोना फैलिन नदिन भारतबाट आएका सबैको अनिवार्य चेकजाँच गर्नुपर्छ ।’

भारतबाट आएकाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँदै उनले १४ दिनअघि नै पीसीआर परीक्षण सक्नुपर्नेमा जोड दिए। यस्तै कर्णाली प्रदेश स्वास्थ विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाले पनि कोरोना परीक्षणको दायरा तत्काल बढाउनुपर्ने जनाएको छ ।

‘क्वारेन्टिनमा रहेका सबैलाई तत्कालन परीक्षण गर्न सकिएन भने अवस्था जटिल हुन्छ,’ प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले भने, ‘प्रदेश सरकारसँगै पीसीआर मेसिन थपेर भए पनि र परीक्षणको दायरा बढाउनुको विकल्प छैन ।’ पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकेको खण्डमा प्रदेशले ठूलो मूल्य चुकाउनुपर्ने उनको बुझाइ छ ।

‘संक्रमित ठाउँबाट एक्कासि हजारौँ नागरिक गाउँ फर्किए, नागरिकको तुलनामा परीक्षण गर्ने मेसिन र किटको अभाव खट्कियो,’ कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले भनिन्, ‘एकै पटक सबै नागरिकको पीसीआर परीक्षण सम्भव छैन ।’

प्रतिक्रिया