मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौं । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ १६०औँ विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो दिवस विश्वभर मनाइन्छ ।
सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभामा ड्युनाको जन्म भएको थियो । ड्युनाले सल्फेरिनोमा भएको युद्धका घाइते सैनिकको बिना भेदभाव गर्नुभएको उद्धार र सेवाले नै सन् १८६३ मा रेडक्रसको जन्म दिनुभएको थियो । सन् १८५९ मा ड्युनाद्वारा लिखित ‘मेमोरी अफ सोल्फेरिनो’ (हृदयस्पर्शी यात्रा संस्मरण ) ले प्रथम नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेको थियो ।
यस वर्षको नाराले रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपि भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई समग्रमा सङ्केत गर्दछ । रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्दछ ।
यसले प्रत्येक वर्ष सशस्त्र सङ्घर्ष, प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पुर्याउन सकेको छ भने यस अभियानको एक सदस्यको रूपमा नेपाल रेडक्रसले वार्षिकरूपमा करिव ३५ लाख व्यक्तिलाई सेवा पुर्याउँदै आएको छ । हाल रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय संस्था हो । यस अभियानमा विश्वभरका करिब १० करोडभन्दा बढी व्यक्ति आवद्ध छन् ।
आजआयोजित कार्यक्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपालस्थित राष्ट्रिय प्रतिनिधि मण्डललका प्रमुख अजमत उल्लाले रेडक्रस र रेडक्रसकर्मीले गर्ने काम र पुर्याउने सेवा मनैदेखिको हुनुपर्ने बताए । उनले भने, ‘सुरक्षित र उत्थानशील समुदाय निर्माणका लागि कोभिड–१९ प्रतिकार्यमा सहयोग जारी छ । यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिहरुको अवधिमा र त्यस्ता परिस्थिति सङ्कटासन्न मानिसहरुका आवश्यकताको पूर्तिका लागि एवं तिनको जीवन सुधार ल्याउनेजस्ता मानवीय सेवाका कार्यक्रम जारी छ ।’
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी )का नेपालप्रमुख सन्देश श्रेष्ठले युद्ध, सशस्त्र सङ्घर्ष र विपद्का बेला नेपाल र विश्वभर रेडक्रसका स्वयंसेवकले मनैदेखि पुर्याइरहनुभएको सेवा र सहयोगको प्रशंसा गरे ।
प्रतिक्रिया