शुक्रबार, वैशाख १२, २०८२

लालबन्दी-मरिण जोड्ने सडकको डिपिआर बनाउने सहमति

नेपालखोज २०७७ असार १ गते ९:२८

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं १३ र १४ को चुरेक्षेत्र हुँदै गाउँपालिका–५ बडीमुहान, अम्बास जोड्ने सडक निमार्णका लागि डिपिआर तयार गर्ने सहमति भएको हो ।

नगरपालिकाका प्रमुख मानबहादुर खड्का र गाउँपालिका अध्यक्ष पानीराज बम्जनसहितको जनप्रतिनिधिबीच भएको छलफलले दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने र तत्काल सञ्चालनका लागि सडकको स्तरोन्नति गर्ने सहमति भएको नगरपालिकाका उपप्रमुख शान्तिकुमारी लामाले जानकारी दिए।

सडकको डिपिआर निर्माण र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ मा दुवै स्थानीय निकायले बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । “दुवै स्थानीय तहका जनप्रतिनिधिबीच छलफल भयो । तत्कालका लागि नगरपालिकाभित्र पर्ने सडक र गाउँपालिकाभित्र पर्ने सडकको स्तरोन्नति गर्ने र आगामी आवमा बजेट विनियोजित गर्ने सहमति भएको छ । दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर तयार गर्ने सहमति भएको छ”, नगरपालिकाका प्रमुख खड्काले भने ।

दुवै स्थानीय निकायले आ–आफ्नो स्थानीय निकायभित्रका सडकको स्तरोन्नति गर्दा बाँकी थोरै क्षेत्रको मात्रै सडक जोड्ने काम बाँकी रहने र आर्थिक भार पनि कम पर्ने गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । सडकको डिपिआर तयार गर्नका लागि आगामी आव २०७७/७८ मा दुवै स्थानीय तहहरुले स्रोतले भएसम्म बजेट छुट्याउने सहमति भएको अध्यक्ष बम्जनको भनाइ छ ।

प्रतिक्रिया