शुक्रबार, जेठ ३, २०८२

हिंसक हुँदैछन् कुकुर

नेपालखोज २०८० असार १० गते ७:४८

विश्वमा हरेक वर्ष कुकुरले टोक्ने लाखौं घटना घटछन् । हामी सबैले वरपर कसैलाई कुकुरले टोकेको कुरा सुनिरहेकै हुन्छौं । नेपालमा मात्र नभई विश्वका विभिन्न भागमा यस्ता घटना सामान्य बन्दै गएका छन् । यद्यपि के तपाईंले कहिल्यै सोच्नुभएको छ किन यस्तो भइरहेको छ ? मानिसका लागि सबैभन्दा भरपर्दो र वफादार मानिने कुकुरले किन यसरी मानिसलाई नै निशाना बनाइरहेकोछ ?

यस सम्बन्धमा गरिएको एउटा नयाँ अध्ययनले बढ्दो तापक्रम र प्रदूषणसँगै कुकुरको रिस पनि बढ्ने र आक्रमणको घटना पनि बढ्न सक्ने देखाएको छ । हार्वर्ड मेडिकल स्कूलका अनुसन्धानकर्ताहरूले बढ्दो तापक्रम, गर्मी, अल्ट्रावायोलेट र ओजोन प्रदूषणका कारण कुकुरले टोक्ने घटनाहरू अझ बढ्न सक्ने दाबी गरेका छन् ।

अनुसन्धानकर्ता तनुजित डेको नेतृत्वमा गरिएको यो अध्ययनको नतिजा साइन्टिफिक रिपोर्ट्स जर्नलमा प्रकाशित भएको छ । यो अध्ययनमा अन्वेषकहरूले कुकुरको टोकाइका ६९,५२५ वटा घटनाको अध्ययन गरेका छन् । ती सबै घटना सन् २००९ देखि २०१८ को बीचमा अमेरिकाका आठ वटा सहरका थिए । यससँगै वैज्ञानिकहरूले बढ्दो तापक्रम र प्रदूषणले उनीहरूको मुडमा पार्ने असरको पनि मूल्यांकन गरेका छन् ।

यो अनुसन्धानमा जे नतिजा आएको छ, त्यो चिन्ताजनक छ । अन्वेषकहरूका अनुसार ओजोन, अल्ट्रावायोलेट विकिरण र तापक्रम बढेसँगै कुकुरले टोक्ने घटना बढ्नेछ। अनुसन्धानले एः द्द।छ र यी घटनाहरू बीच कुनै सम्बन्ध देखेनन । त्यसैगरी वर्षाका दिन र बिदामा कुकुरले आक्रमण गर्ने घटनामा कमी आएको पाइन्छ ।

तातो र धुलोको दिनमा कुकुरले मानिसलाई बढी आक्रमण गर्ने निष्कर्षमा अनुसन्धानकर्ताहरू पुगेका छन् । विशेष गरी प्रदुषण बढी हुँदा तिनको आक्रमणको सम्भावना पनि बढ्छ । त्यसैगरी बढ्दो तापक्रमले कुकुरलाई पनि आक्रामक बनाएको छ । अनुसन्धान अनुसार वातावरणमा अल्ट्रावायोलेट विकिरण उच्च हुँदा कुकुरले टोक्ने घटनामा ११ प्रतिशतले वृद्धि भएको थियो ।

यी घटनाहरू अत्यधिक तातो दिनहरूमा ४ प्रतिशत र ओजोन स्तर बढेको कारण ३ प्रतिशतले बढेको देखियो । अनुसन्धान अनुसार अब आउने दिनहरुमा पनि कुकुर रिसाउने समयमा कमि हुने छैन बरु समयसँगै ती अझ हिंसक हुँदै जानेछन् । कुकुरको व्यवहारमा यो परिवर्तन मानिसको जस्तै छ ।

तापक्रम र वायु प्रदुषणको स्तर उच्च हुँदा मानिसले बढी हिंसात्मक अपराध गर्ने गरेको यसअघिका अध्ययनहरू बाट प्रमाणित भइसकेको छ । यति मात्र होइन तापक्रम बढ्दै जाँदा बाँदर, मुसा जस्ता जनावरमा पनि यो प्रवृत्ति देखिएको छ ।

जर्नल इन्भार्मेन्टल रिसर्च लेटर्स जर्नलमा प्रकाशित अध्ययन अनुसार बढ्दो तापक्रमले हिंसात्मक घटनामा वृद्धि गर्नसक्छ। अन्य धेरै अध्ययनहरूले पनि बढ्दो तापक्रमका कारण अपराध बढी भएको पुष्टि गरेको छ। वैज्ञानिकहरुका अनुसार मानिसहरु बस्ने वातावरणले उनीहरुको रिसलाई उत्तेजित वा कम गर्छ । तातो क्षेत्रमा अपराध बढी हुन्छ भने चिसो क्षेत्रमा अपराधको दर कम हुन्छ ।

बढ्दो तापक्रम र प्रदूषणले मात्र कुकुर आक्रामक नबकेको अनुसन्धानमा विश्वास गरिएको छ । यसका लागि अन्य कारकहरू पनि जिम्मेवार छन्। अध्ययनले पीडितहरूको कुकुरसँगको निकटता , कुकुरको जात , लिंग आदिका साथै पीडितहरुको विवरण भने दिएको छैन् ।

यद्यपि एउटा कुरा प्रष्ट छ -बढ्दो तापक्रम र प्रदूषण जस्ता वातावरणीय कारकहरूले जीवित प्राणीहरूको व्यवहारमा परिवर्तन ल्याइरहेका छन् र त्यसका लागि हामी मानवहरू कुनै न कुनै रूपमा जिम्मेवार छौं । कुकुरको आक्रमणले पीडित र कुकुर दुवैलाई गम्भीर चोटपटक लाग्न सक्छ। त्यस्ता घटनाहरू रोक्न जनावरहरूको आक्रमणमा योगदान गर्ने सबै कारकहरू बुझ्न आवश्यक छ । डर कुकुरको टोकाइको प्रमुख कारण हो। जब कुकुरले डराएको वा कुण्ठा महसुस गर्छ तब उसले आत्म(रक्षाका लागि टोक्न सक्छ ।

प्रतिक्रिया