क्रिकेटर लामिछानेविरुद्ध दायर क्षतिपूर्तिको निवेदनको आज पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अन्तरिम क्षतिपूर्तिको मागदावी लिई दायर निवेदनमाथि सोमबार सुनुवाइको तयारी गरिएको छ ।
काठमाडौं जिल्ला अदालतमा पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिको मागदाबी गर्दै निवेदन दर्ता भएको थियो ।
सर्वोच्च अदालतबाट भएको आदेश बमोजिम पीडितले अन्तरिम क्षतिपूर्तिका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दर्ता गराएकी थिइन् ।
सर्वोच्चको आदेशमा उपचार र मनोसामाजिक परामर्शका लागि आवश्यक खर्च अन्तरिम क्षतिपूर्तिमार्फत वितरण गर्न निर्देशन दिइएको थियो ।
सो निवेदनका सम्बन्धमा यसअघि काठमाडौं जिल्ला अदालतले खर्च के कति लाग्छ भनी प्रतिवेदन दिन निर्देशन दिएको थियो । नर्भिक अस्पतालले काठमाडौं जिल्ला अदालतमा बुझाएको प्रतिवेदनमा कन्सल्टेसन भिजिटका लागि प्रति भिजिट १०४७ रुपैयाँ र साइकोलोजिकल काउन्सेलिङका लागि पर सेसन १ हजार ५०० सय रुपैयाँ लाग्ने प्रतिवेदन दिएको छ ।
यसअघि पीडितको तर्फबाट उपचार खर्च भन्दै काठमाडौं जिल्ला अदालतमा ३६ हजार रुपैयाँको बिल पेस गरिएको छ । पीडितले उपचार खर्च बाहेक अन्य खर्चको माग अन्तरिम क्षतिपूर्तिमा गरेकी छैनन् ।
पीडितको तर्फबाट भविष्यमा लाग्ने खर्चको समेत क्षतिपूर्ति माग गरे पनि अस्पतालले दिएको प्रतिवेदनमा भविष्यमा कति खर्च लाग्छ भन्ने नसकिने प्रतिवेदन दिएको छ ।
पीडित पक्षले यसअघि प्रतिवादी सन्दीप लामिछानेसँग १० लाख अन्तरिम क्षतिपूर्तिको माग गरेकी थिइन् । तर अदालतले उनको माग खारेज गर्दै वास्तविक खर्च र वास्तविक लागतका आधारमा अन्तरिम क्षतिपूर्ति दिन सकिने भन्दै त्यसको लागि प्रतिवेदन माग गरेको थियो ।
सोमबार सोही सम्बन्धमा निवेदनको विषयमा पेसी राखिएको छ र अन्तरिम क्षतिपूर्ति के कति आधारमा कति दिने भनेर निर्णय गर्नेछ ।
जबरजस्ती करणी कसुरको मुद्दामा अन्तिम पेसी भने अझै तोकिएको छैन । लामिछाने क्रिकेट खेल्नका लागि जिम्बाब्वेमा रहेका कारण उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाइका लागि पेसी तोक्ने जनाएको छ ।
प्रतिक्रिया