बुधबार, जेठ १, २०८२

सुनसान बन्दै प्रमुख व्यापारिक केन्द्र दरबाङ

नेपालखोज २०८० असार १४ गते ८:३४

गलेश्वर । अगाडि उर्लेर बग्ने म्याग्दी नदी । वरिपरि डरलाग्दा पहाड । पहाडका फेदमा छन् स्याउला र टिनले छाएका छाप्रा । एक–दुई मात्र ढुङ्गेघर । यो पातलो बस्तीका सानो बजारमा व्यापारीलाई भने एकछिन पनि हात खाली हुुँदैनथ्यो । ती दिन एकादेशको कथा जस्तै बनेका छन् अहिले ।

यस्तो अवस्था पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारको हो । जतिबेला बेनी–दरबाङ सडकको ट्र्याक खुलेको थिएन । मानिस पैदल ओहोरदोहोर गर्थे त्योबेला दरबाङको रौनक छुट्टै थियो । डेढ दशकअघि बेनी–दरबाङ सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालन हुन थालेपछि भने दरबाङको अवस्था फेरिएको छ ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ मा पर्छ दरबाङ बजार । सडकको पहुँचसँगै दरबाङ बजारको क्षेत्र विस्तार भएको छ । पक्की घरले दरबाङ भरिभराउ छ । व्यापार व्यवसाय भने खस्किँदै गएपछि यहाँका व्यापारी पलायन हुने अवस्थामा पुगेका छन् ।

गाउँपालिकाको केन्द्र दरबाङ पश्चिम म्याग्दीका मालिका र धौलागिरि गाउँपालिकाका साथै बागलुङको पश्चिमी भेगका दर्जन बढी गाउँकोसमेत प्रमुख व्यापारिक केन्द्र हो ।

पछिल्लो समय दरबाङ बजारमा घर निर्माणको क्रम बढेर बजार विस्तार भए पनि व्यापार भने खस्किदै गएको स्थानीय पुराना व्यापारीले बताएका छन् । त्यसमा पनि कोरोना महामारीसँगै उत्पन्न भएको आर्थिक मन्दीका कारण विप्रेषणमा आएको कमी र गाउँगाउँमा पुगेको मोटरबाटोका कारण यहाँको व्यापार व्यवसाय घट्दै गएको दरबाङ होटल व्यवसायी सङ्घका अध्यक्ष अमृत सापकोटाले बताए ।

विगत २० वर्षदेखि दरबाङ बजारमा व्यापार गर्दै आएका सन्तोष सुवेदीले पछिल्लो समय दरबाङमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाए ।

पाँच वर्षयता (कोरोना महामारी सुरु भएपछि)को आर्थिक मन्दी र ग्रामीण सडकका कारण पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङका व्यवसायी फुर्सदिला बनेका छन् । ग्राहकको चापले खाना खाने समय नपाउने दरबाङ बजारका व्यापारी व्यापार घट्दै गएपछि फुर्सदिला बनेका हुन् ।

एक दशक अघिसम्मको टहरा र ढुङ्गेघर भएको दरवाङमा अहिले तीव्ररुपमा घर निर्माणको क्रम बढे पनि व्यापार व्यवसाय भने धरासायी बन्दै गएको होटल व्यवसायी सङ्घका अध्यक्ष सापकोटाले बताए ।

‘दरबाङमा टहरा र केही ढुङ्गे घर थिए, अहिले घरैघरले भरिएको ठाउँ ऊ बेला बारी, झाडी, घोडा र खच्चडको चरन क्षेत्र थियो’, उनले भने, ‘बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो, उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सद पाइँदैनथ्यो, अहिले बजार बढ्यो तर व्यापार खस्कियो ।’

दश वर्षअघिसम्म पश्चिम म्याग्दी र तमान, लामेला, ढोरपाटनलगायत क्षेत्रको व्यापारिक केन्द्र दरबाङ बजार थियो । धौलागिरि हिमाल आरोहण गर्न जाने पर्यटक, पदयात्री मात्र नभएर खाद्यान्न, लत्ताकपडा खरिदका लागि आएका गाउँका मानिसले दरबाङ बजारका भट्टीदेखि होटल भरिभराउ हुन्थे ।

जिल्ला सदरमुकाम बेनी बजार जाने आउनेको ‘ट्रान्जिट’ दरबाङ थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले त्यो कुरा एकादेशको कथामा परिणत भएको दरबाङमा व्यापार गर्दै आएका मिनबहादुर सिउथानी मगरले बताए । अहिले थोक बिक्रेता (डिलर) बाहेकका साना व्यापारी दरबाङमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् ।

यहाँका पुराना व्यापारी भीमबहादुर पुनले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताए । ‘बेनी, नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो, ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे’, उनले भने, ‘अहिले उत्पादकबाट सिधै डिलरकहाँ सामान आउँछ, डिलरले गाडीमा ग्राहकको घरदैलोमै पुर्याउछन्, किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।’

करिब एक किलोमिटर दूरीमा म्याग्दी नदीको किनारमा फैलिएको दरबाङ बजार मालिका–६ मा पर्छ । यहाँ दुईसय बढी घर छन् । दरबाङमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने यो बजार अहिले सुनसान भएको स्थानीय मिमबहादुर सुनारले बताए ।

यहाँका पुराना व्यापारी धेरैले दरबाङ छाडिसकेका छन् । त्यसबेलाका ठूला व्यवसायी पोखरा, चितवन, काठमाडौं सरेका हुन् । गाउँबाट दरबाङ झरेर घर निर्माण गरी बस्ने क्रम बाक्लिएको छ । यहाँको व्यापार दरबाङ क्षेत्रमा बसोबास गर्ने बासिन्दाबाट नै धानिएको छ । घरले भरिएर बजारभित्र करिब खाली ठाउँ भेटिँदैनन् ।

शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ ।

यातायातका साधनमार्फत ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न बजारको व्यापार व्यवसाय खस्किँदै गए पनि छोराछोरी पढाउन बजारमा कोठा लिएर बसेका मानिस र विद्यार्थीका कारण ससाना पसल तथा व्यवसाय धानिएको स्थानीय हिराबहादुर पुनले बताए ।

बेनी–दरबाङ सडक विस्तार र स्तरोन्नतिसँगै पश्चिम म्याग्दीका गाउँगाउँबाट सिधै पोखरा–सुनसान बन्दै प्रमुख व्यापारिक केन्द्र दरबाङका लागि गाडी छुट्न थालेका छन् ।

सङ्घीयताको कार्यान्वयनपछि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको सेवा विकेन्द्रीकृत भएपछि गाउँ गाउँमा समेत बैंक तथा वित्तिय क्षेत्रको पहुँच पुगेको छ ।

मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका तीन वर्षमा भएको बन्दाबन्दीले साना पुँजीका खुद्रा व्यापारीलाई समस्या परेको स्थानीय व्यापारीले बताएका छन् ।

खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् ।

प्रतिक्रिया