पीडा विस्थापन र बसाइँसराइको

एजेन्सी। युद्ध, प्रकोप तथा आर्थिक सङ्कटका कारण हरेक वर्ष संसारभरि लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य हुन्छन् । को कहाँ र किन जान्छ ? उनीहरूलाई कसले स्वागत गरिरहेको छ र उनीहरूका लागि कसले ढोका बन्द गरेको छ ? शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (UNHCR) ले सन् २०२२ को मध्यसम्ममा अन्तर्राष्ट्रिय संरक्षणको खाँचोमा परेकाहरूका लागि तयार पारिएको अभियानअन्तर्गत आउने सबै शरणार्थीमध्ये ७२ प्रतिशत मात्र पाँच देशका भएको बताएको छ। तिनीहरूमध्ये धेरैजसो सिरियाका हुन्, जहाँ २०११ मा गृहयुद्ध सुरु भएको थियो ।
अन्तर्राष्ट्रिय सहभागितामा सुरु भएको यो युद्ध आज पनि जारी छ । दोस्रो ठुलो राष्ट्रिय समूह भेनेजुएलाको ५.६ मिलियन जनसङ्ख्या हो । यो दक्षिण अमेरिकी देशले धेरै वर्षदेखि गम्भीर राजनीतिक, आर्थिक तथा मानवीय सङ्कटको सामना गर्दै आएको छ । सन् २०२२ को मध्यमा पनि उत्तिकै ठुलो संख्यामा मानिसहरू युक्रेनबाट भागेका थिए । अहिले उनीहरूको संख्या बढेर ८० लाख पुगेको छ । यसैबीच, युक्रेनलाई आफूमा विलय गराउन रुसको लडाइ जारी छ ।
शरणार्थीहरूको ठुलो हिस्सा केही देशबाट मात्रै आउँछन् । यद्यपि, जब घरबारविहीनहरूलाई ठाउँ दिने देशहरूको कुरा आउँछ , स्थिति पूर्ण रूपमा स्पष्ट छैन। संख्याका हिसाबले सबैभन्दा बढी शरणार्थीलाई पाँच देशले स्थान दिएका छन् । यूनएचसीआर ( UNHCR ) अन्तर्गत रहेका शरणार्थीहरू मध्ये ३६ प्रतिशत मानिस यी देशमा बस्छन् र ती देश हुन – टर्की, कोलम्बिया, जर्मनी, पाकिस्तान तथा युगान्डा । यो सूचीका अन्तिम दुई देशको नाम हेर्दा पनि अफ्रिका र एसियाका सबै शरणार्थी युरोप मात्रै जाने कुरा गलत साबित हुन्छ ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले अफ्रिकी महादेशका करिब ८० प्रतिशत आप्रवासीहरू आफ्नै क्षेत्रभित्र बसाइ सर्ने गरेको देखाउँछ । एसियामा पनि धेरैजसो शरणार्थी र आप्रवासीहरू आफ्नै महाद्वीपभित्रै रहन्छन् । आप्रवासीहरूको ठुलो संख्या बाहेक कुन देशले उनीहरूको कुल जनसंख्याको अनुपातमा कति आप्रवासी तथा शरणार्थीहरूलाई होस्ट गर्छन् भन्ने कुरा पनि सान्दर्भिक छ । यो समूहको शीर्षमा लेबनानको नाम आउँछ । तथ्याङ्क वेबसाइट Statista का अनुसार २०२० को अन्त्यमा लेबनानमा बस्ने लगभग १३ प्रतिशत मानिस शरणार्थी थिए भने ती मध्ये पनि धेरैजसो सिरियाका थिए । यसमा लेबनानमा हजारौँको संख्यामा बस्ने प्यालेस्टिनी शरणार्थीहरू समावेश छैनन् ।
अरूबा र कुराकाओका क्यारिबियन टापुहरू पनि उनीहरूको जनसंख्याको तुलनामा ठुलो संख्यामा शरणार्थीलाई होस्ट गर्ने सन्दर्भमा शीर्ष स्थानमा छन् । Statista का अनुसार २०२० को अन्त्यमा अरुबा विश्वमा समानुपातिक रूपमा सबैभन्दा ठुलो संख्यामा शरण दिने ठाउँ बन्यो। अरुबाका १ लाख १२ हजार बासिन्दा मध्ये १६ प्रतिशत शरणार्थी थिए । यी शरणार्थी मध्ये अधिकांश छिमेकी भेनेजुएलाका नागरिक थिए । अरुबा र कुराकाओ नेदरल्याण्ड्सको दुई घटक देश हुन् । उनीहरू युरोपेली सङ्घको हिस्सा होइनन् तर त्यससँग नजिक छन् ।
प्रतिक्रिया