मंगलबार, वैशाख ३०, २०८२

झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

नेपालखोज २०८० असार २९ गते ६:४७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमाथिको बाढीले चुँडालेको झोलुङ्गे पुल खोल्ने कार्य सुरु गरिएको छ । गत वर्ष नदीको बाढीले चुँडेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको छ । अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुलका एकातर्फको भागको जग्गा कटान गर्दा पोल ढलेर नदीमा खसेको थियो ।

खसेका पोलमा नदीले बगाएर ल्याउने रुख काठपात अड्किन गई नदी बस्तीतर्फ पस्न सक्ने र बस्तीलाई क्षति हुने सम्भावना भएकाले पुलका सामान हटाउन थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए । ‘क्षतिग्रस्त पुलका स्टिलपार्टस्, लठ्ठा, बुल्डग्रिप्सलगायतका सामान खोलेर वडा कार्यालयमा सुरक्षित तरिकाले राख्न लागेका छौँ’, उनले भने, ‘जिल्ला प्रशासन कार्यालय र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट पुलका सामानको उचित व्यवस्थापनसहित रेकर्ड गरी स्थानीय तहको जिम्मेवारीमा राख्ने पत्राचार भएअनुसार कार्य भइरहेको छ ।’

पुलका पार्टहरू खोल्नका मजदुरलाई काममा लगाइएको उल्लेख गर्नु हुँदै उनले खोलिएका पार्टहरू चोरी हुनसक्ने भएकाले सुरक्षित तरिकाले ढुवानी गरी वडा कार्यालयमा राख्ने कार्य भइरहेको बताए । ढलेको पुल खोलेर वडा कार्यालयमा राखिए पनि हस्तान्तरण वा लिलामी गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालयबाट निर्णय भएअनुसार हुने सस्पेन्स ब्रिज डिभिजन कार्यालयले पठाएको पत्रमा उल्लेख भएको वडाध्यक्ष रानाले जानकारी दिए ।

निर्माण भएको एक वर्ष नपुग्दै नदीमा आएको बाढीले एकातर्फको पोल नदीमा ढलाउँदा पुल चुडिएर नदीमा खसेको थियो । नदी वारपार गर्ने एकमात्रै पुल ढलेपछि स्थानीय बासिन्दा सास्ती खेप्दै आएका छन् । विद्यालय जाने विद्यार्थी, स्थानीय बासिन्दा, बिरामीलगायतले बाढी आएका बेला नदी तर्नुपर्ने पुरानै अवस्था दोहोरिएको छ ।

ढलेको पुलको लम्बाइ एक सय ८७ मिटर रहेको थियो । पुल रु दुई करोड ५० लाख बढीको लगानीमा निर्माण गरिएको थियो । गत वर्षको भदौ ३१ गते आएको विनाशकारी बाढीले झोलुङ्गे पुल चुडालेको थियो । बाढीले पुल चुडाल्ने कार्यसँगै त्यस क्षेत्रका दर्जनौँ घर डुबानमा परेका थिए । लगाएको धान, उखु, सखरखण्डी, बदामलगायतको बालीमा व्यापक नोक्सानी भएको थियो ।

प्रतिक्रिया