मंगलबार, वैशाख ३०, २०८२

योजना नै नपरी सेवाग्राहीलाई गाउँपालिकाको फोन, एकप्रति फोटोकपीको सय रुपैयाँ !

नेपालखोज २०८० असार ३१ गते १६:२०

बैतडी । बैतडीको सिगास गाउँपालिकाको केन्द्र ‘गर्जे’ बैतडीकै दुर्गम केन्द्रका रूपमा चिनिन्छ। यहाँ न सहज सडक सञ्जाल छ न आवश्यक सेवा–सुविधा। केही सीमित व्यापारिक पसल रहेको यस गाउँपालिकाको केन्द्रमा व्यापारीले मनलाग्दी रकम असुल्ने गरेका छन्।

गत आइतबार सिगास गाउँपालिका–१ की बिन्दु बिक एक दिनको पैदल यात्रा गरेर वडा नं ८ को गर्जे पुगेकी थिइन्। छानो मर्मतको योजना परेको र सम्झौताका लागि जानुपर्ने भन्दै वडा कार्यालयबाट सिफारिस लिएर गएकी बिन्दुले एकप्रति फोटोकपी गरेको एक सय रुपैयाँ तिर्नुपरेको बताइन्।

‘लालपुर्जा, नागरिकता र मोबाइलमा खिचेर लगेको घरको फोटोलाई फोटोकपी पेपरमा राखेर प्रिन्ट गराएकी हुँ,’ बिकले भनिन्, ‘एक सयका दरले ३ सय भनेपछि सोही अनुसार तीन सय रुपया तिरेँ।’ फोटोकपी गर्ने पसल नै एकमात्र रहेकाले अन्त जाने विकल्पसमेत नरहेको बताउँदै व्यापारीले भनेअनुसार नै पैसा तिरेको उनको भनाइ छ।

यता व्यवसायी टेकसिंह ऐरले भने आवश्यक सामग्री नै महँगोमा खरिद गर्नुपर्ने भएकाले शुल्क पनि सोहीअनुसार लिनुपरेको स्वीकार गरे। ‘हरेक सामग्री महँगोमा यहाँ आइपुग्छ। यो महँगीमा जेनेटरबाट फोटोकपी मेसिन चलाएको छु,’ व्यवसायी ऐरले सुनाए।

बिकले फोटोकपी गर्दाको दिन सेवाग्राहीको भीड धेरै भएको र दिनैभर जेनेटर चलाएर सेवा दिएकाले महँगो लिनुपरेको उनको भनाइ छ। यातायातको पहुँच नहुदा व्यापारीमा धेरै लगानी गर्नुपर्ने र सोहीअनुसार मुल्य तोक्नुपर्ने बाध्यता रहेको पनि उ्नले बताए।

गर्जेमा सीमित पसल मात्रै भएकाले मनलाग्दी रकम असुल्ने गरेको पाइएको छ। यस विषयमा गाउँपालिका उपाध्यक्ष धाना धामीलाई सोध्दा उनले अनुगमन गरिने जबाफ दिए। ‘यो त अति नै रकम लिइएको रहेछ,’ धामीले भने, ‘दुर्गम क्षेत्रमा सेवा दिएको भन्दैमा अस्वाभाविक रकम लिन पाइँदैन, यसबारे थप बुझ्छु।’

योजना नपरेपछि रित्तो हात घर

एक दिन पैदल यात्रा गरेर गर्जे पुगेकी बिकको नाममा योजना नै नपरेको भन्दै रित्तो हात फर्काइएको छ। वडा नं १ बाट छानो मर्मतका लागि योजना परेको र सम्झौताका लागि गाउँपालिका जान भन्दै सिफारिस समेत बनाइएको भए पनि गाउँपालिका पुगेगी बिन्दु रित्तै फर्किनुपरेको छ।

रोजगार सेवा केन्द्रले योजना परेको भन्दै पठाइदिन भनेपछि सिफारिस गरिएको वडा नं १ का वडा अध्यक्ष रामचन्द्र ऐरले बताए। ‘रोजगार सेवा केन्द्रबाट फोनमार्फत छानो मर्मतको योजना परेका भनेको थियो, तर उहाँको योजना नै नपरेको रहेछ,’ अध्यक्ष ऐरले भने।

गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट गलत सूचना गएकाले बिन्दुले दुःख पाएको केन्द्रले स्वीकार गरेको छ। आफ्ना कर्मचारीले बिन्दुको नाममा योजना परेको भन्दै फोन गरेका तर योजना सोही वडाका अन्य तीन जनाको नाममा भएको केन्द्रले जनाएको छ। -INS

प्रतिक्रिया