बुधबार, जेठ १, २०८२

जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत

नेपालखोज २०८० साउन ३ गते १८:२२

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो भ्रमणबारे जानकारी गराउँदै अर्थमन्त्री महतले अल्पविकसित र विकासोन्मुख मुलुकले भोगिरहेका विभिन्न खालका समस्या तथा चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सो सम्मेलन महत्त्वपूर्ण रहेको बताए ।

अहिले विश्वभर आर्थिक वृद्धिदर न्यून देखिएको र कर्जा प्रवाहसमेत घटिरहेको विषयमा जी–२० मुलुकले पनि चासो देखाएको अर्थमन्त्री महतले बताए । त्यस्तै आफ्नो भारत भ्रमणका क्रममा विकास साझेदार र दातृ निकायसँग पनि महत्त्वपूर्ण भेटघाट भएको अर्थमन्त्री महतको भनाइ छ । यो सम्मेलनका क्रममा आफूले जलवायु परिवर्तन र यसबाट नेपालले व्यहोरिरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको र जलवायु परिवर्तनका कारण सिर्जित समस्या न्यूनीकरणका लागि कसरी विकसित देशले सहयोग गर्नुपर्ने विषय उठाएको पनि मन्त्री महतले जानकारी दिए ।

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाको सहभागिता रहेको थियो । जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विभिन्न सत्रमा छलफल भएको थियो । त्यस्तै सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको जनाइएको छ ।

प्रतिक्रिया