फाक्दिङको क्यान्टीलिभर पुल

नेपालका पुराना पुलहरुको इतिहास हेर्दा खासगरि बाँसका पुल, झोलुङ्गे पुल र काठका क्यान्टीलिभर पुलहरु भेटिन्छन् । बाँसका पुलहरु एक दुइ वर्षात भन्दा बढि झेल्न सक्दैनन् ।
वर्षे भेल नआउने साना खोलाहरुमा केही वर्ष बढि पनि टिक्दछन् । तर वर्षे भेल आउने नदी नालाहरुमा भने हरेक वर्षाको भेलले बगाएर लगिदिन्छ । झोलुङ्गे पुलहरु भने चन्द्रशम्शेर भन्दा अगाडि बनेका खासै धेरै भेटिदैन ।
आफ्नै श्रोत साधनले बनाइएका झोलुङ्गे पुलहरुमा माथिल्लो भाग करिव २ फुट चौडाइ र तल्लो हिड्ने भाग भने सानो बनाइएको हुन्थ्यो । जसमा लामो बाँस वा काठको मुढा राखिएको हुन्थ्यो । पछि बनेका झोलुङ्गे पुलहरुमा हिड्ने भाग चौडा बनाएर फल्याक राख्ने गरेको पाइन्छ ।
क्यान्टीलिभर पुल भने काठ अत्यधिक पाइने ठाउँहरुमा काठका क्यान्टीलिभर पुल बनाइएको भेटिन्छ । छोटो दुरीको पुलहरुमा एक वा दुइ तह क्यान्टीलिभर राखिएका हुन्थे भने लामा पुलहरुमा ५-६ तहसम्म क्यान्टीलिभर राखिएका हुन्थे ।
क्यान्टीलिभर भनेको लामा काठका सत्तलहरुको एक भाग जमिनमा राम्ररी ढुङ्गाले अचेटेर अर्को भाग खोलातर्फ खाली छोडिएको हुन्थ्यो । यस किसिमको बिमलाई क्यान्टीलिभर भनिन्छ । यसरी दुबै तर्फ क्यान्टीलिभर बनाइए पछि दुवैलाई टेक्ने गरेर लामो अर्को सत्तलले खोलाको दुबैतर्फ आरपार हुनेगरि जोडिन्थ्यो ।
यसरी बनाइने पुललाई क्यान्टीलिभर पुल भनिन्थ्यो । १२-१५ फुटसम्मको खोलाको वारपार गर्न एक दुइ क्यान्टीलिभरको तहले नै पुग्दथ्यो । तर लामा पुलहरु बनाउनुपर्ने अवस्थामा भने बढि तहका क्यान्टीलिभर राखिन्थ्यो । जसले गर्दा खोलाको वारपार जोड्न सहज हुन्थ्यो र बलियो पनि हुने गर्दथ्यो ।
जुम्ला जिल्लामा रहेका पुराना काठका पुलहरु धेरैजसो क्यान्टीलिभर पुलहरु हुन् । त्यस्तै पूर्वी सोलुखुम्बु तिर पनि क्यान्टीलिभर पुलहरु भेटिन्छ ।
सगरमाथा आधार शिविरको यात्रामा निस्कदा लुक्लासम्म विमानबाट पुगेपछि पैदल यात्रा शुरु हुन्छ । लुक्लाबाट हिडेपछि पहिलो दिनको बास बस्न फाक्दिङ पुगिन्छ । यहि फाक्दिङमा दुधकोशी नदी माथि बनेको यो काठे पुल पनि क्यान्टीलिभर पुल नै हो ।
यहाँ तस्विरमा देखाइएको यो पुल पछि एडमण्ड हिलारीले अर्को झोलुङ्गे पुल बनाइदिए पछि यो पुल उपयोग बिहिन हुन पुगेको थियो । तस्विरमा पुलको पृष्ठभूमीमा सुन्दर कुसुम कंगुरु हिमाल देखिएको छ ।
प्रतिक्रिया