आज भिमसेन थापाको २४९औ जन्मजयन्ती

भिमसेन थापाको उदय
थापाहरूको ऐतिहासिक उपस्थिती वि.सं. १२४६ मा डोटीको कांडामालिका राज्यको राजा कालु थापाबाट भएको देखिन्छ । पछि उनका जेठा छोरा पून्याखर पुलाचौर, म्याग्दीका राजा भए, माहिला तारापति ताकम, म्याग्दीका राजा भए, साहिला विरू थापा रूकुमकोटका राजा भए, कान्छा जशोधर ज्यामरूककोट, म्याग्दीका राजा भए । यि राज्यहरूमा करिव ३०० वर्ष राज्य गरेको देखिन्छ । यसपछि राज्यमा हार पछि बिभिन्न स्थान गएर बसोबास गर्न थालेका थिए ।
थापामा गोदार थापा, बगाले थापा र पुँवर थापाहरू प्रमुख मानिन्छ । कालु थापा कै वंशका वीरभद्र थापा गोरखामा पुगेको देखिन्छ । पृथ्वीनारायण शाहको भारदारको रूपमा रहेका वीरभद्र थापाको नाती भीमसेन थापाको जन्म गोरखाको बोर्लाङ, पिपल थोकमा वि.सं. १८३२ साउन ९ गते सानुकाजी अमरसिंह थापा र सत्यरूपा मायाको पहिलो सन्तानको रूपमा भएको थियो ।
मात्र १० वर्षको उमेरमा ब्रतबन्धको समय राजा रणबहादुर शाहसंग भेट हुदा मित्रता गाँसेका उनले पहिलो पटक वि.सं. १८५७ जेठ १७ मा राजासंग बनारस पुगे । यसरी उनकै साथ नेपाल फर्कि मन्त्रीको रूपमा मुख्तियार रणबहादुरका सल्लाहकार बने । पछि वि.सं. १८६२ फागुन १७ मा काजी बनाइए । वि.सं. १८६३ बैशाख १४ मा रणबहादुरको मृत्यु पछि भीमसेन मुख्तियार बने । बडामहारानी त्रीपुरासुन्दरीले नायवी चलाउन थाले ।
अंग्रेजहरूको कूटनीति
वि.सं. १८२४ भदौ १३ मा जर्ज किनलकको नेतृत्वमा जयप्रकाश मल्ललाई सहयोग गर्ने बहानामा नेपाल छिरेका अंग्रेज, जयप्रकाश मल्लकाे असफलताको कारण चुपचाप बस्न बाध्य भयो । पृथ्वीनारायण शाहको राज्य एकिकरणको अभियानलाई असफल बनाउन चाहन्थे तर आफै असफल भए ।
मल्ल राजाहरूलाई फकाएर झण्डै पचास वर्ष काठमाडौ, भक्तपुर र पाटनमा चर्च बनाएर बसेका इटालियन कपुचिन पादरीहरूलाई पृथ्वीनारायण शाहले देश छोड्न लगाएका थिए । वि.सं. १८२५ मा बहादुर शाह देशबाट निस्काशित भएर बेतिया पुग्दा नेपालबाट निस्काशित फादर माइकल एन्जेलोसंग नजिक हुन पुगे । यसपछि १८२७ मा जेम्स लोगन आए । यस पटक सैन्य अभियान होइन बिशुद्ध ब्यापारिक इच्छा बढाउन चाहेको देखाउन खोजे । यसपटक पनि असफलता हात लाग्यो ।
वि.सं. १८४० पौष २० मा गवर्नर जनरल वारेन हेस्टिङ्गले नेपालसंग मित्रता गास्न चाहेको पत्र पठाए । पत्रमा फक्सक्रफ्टलाई पठाउन चाहेको लेखे तर फक्सक्रफ्ट आउनु अगाडी नै उनलाई लागेको बिभिन्न आक्षेपको कारण उनि वि.सं. १८४१ माघ २८ मा ब्रिटेन फर्के । यता देशमा सनकी राजा रणबहादुर शाहको शासन काल थियो । उता अंग्रेजको नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अदम्य चाहना थियो ।
वि.सं. १८४६ को नेपाल र भोटको लडाइमा चीन सरकारको मध्यस्थतामा टुङ्गिए पनि भोटले सन्धि अनुरूप कार्य नगर्दा १८४८ मा नेपालले पुन भोटमा आक्रमण गर्यो । तर भोटलाई सहयोग गर्न चीनिया सेना आए । जसले गर्दा नेपालले युद्धको लागी हातहतियार अंग्रेजसंग खरिद गर्ने मनसाय स्वरूप वि.सं. १८४८ फागुन २२ मा अंग्रेजसंग ब्यापारिक सन्धि गरे । तर अंग्रेजले चीनसंगको युद्धको लागी कुनै सहयोग गर्न चाहेन । जसले गर्दा चीनिया सेना जीतपुर फेदीसम्म आइपुगे ।
नेपालले बाध्य भएर वि.सं. १८४९ असोज २० मा चीनसंग बेत्रावती सन्धी गर्न बाध्य भयो । नेपालले अंग्रेजबाट कुनै सहयोग प्राप्त नभए पछि अंग्रेजसंगको सन्धिको वेवास्ता गरे जसको कारण गवर्नर लर्ड चार्ल्स कर्नवेलिसले वि.सं. १८४९ फागुन २३ मा कर्कपेट्रिकको नेतृत्वमा साम्युअल स्कट, विलियम हन्टर डगलस नक्स, जे जेराड, आडम फ्रिर र मौलवी अब्दुल कादिरलाई नेपाल पठाए । मात्र तीन हप्ता नेपाल बसेका कर्कपेट्रिकले नेपालको सम्पूर्ण जानकारी बटुलेर लगे । पछि उनले पुस्तक पनि लेखे एकाउण्ट अफ किङ्गडम अफ नेपाल । यसरी नेपालमा अंग्रेजको प्रवेश सम्भव भयो ।
वि.सं. १८५७ को बैशाखमा रणबहादुर शाह भीमसेन थापा, रघुनाथ पण्डित, बलभद्र शाह तथा गोरा पाण्डे तर्फका दलभञ्जन पाण्डेलाई साथ लिएर बनारस पुगेपछि अंग्रेजले चाहेको कुरा पुरा हुने लक्षण देखियो । त्यहाँ रहदा भीमसेनको सल्लाहमा अंग्रेजसंग सम्झौता गर्न खोजे ।
पहाडको ३७.५% तथा तराईको आधा कर अंग्रेज सरकारलाई बुझाउन तैयार रहेको जनाउदै सत्ता पुनर्प्राप्तीको लागी सहयोग मागे । यता दामोदर पाण्डेले रणबहादुर संग अंग्रेजले सम्झौता गरे देशले ठूलो क्षति ब्यहोर्नु पर्छ भन्दै आफु सम्झौता गर्न चाहेको पत्र अंग्रेजलाई पठाए । त्यसपछि अंग्रेजले रणबहादुरको अनुरोध अस्विकार गर्दै दामोदर पाण्डेको सरकारसंग वि.सं. १८५८ कार्तिक १२ मा सम्झौता गरि नेपालमा ब्रिटिस रेसिडेन्ट रहने ब्यबस्था गर्यो ।
नेपालमा पहिलो ब्रिटिस रेसिडेन्टको रूपमा नक्सको नियुक्ति भयो । उनको एक वर्ष कार्यकालमा भारदार बिचको आपसी कलह तथा बिभिन्न कारणले नेपालमा रहेको ब्रिटिस रेसिडेन्टको कार्यालय बन्द गर्न लगाईयो । ब्रिटिसको सपना एक पटक फेरी तुहियो । अन्तत भीमसेन थापाको कार्यकालमा अंग्रेजले बिभिन्न बहानामा नेपालसंग
वि.सं. १८७१ कार्तिक १८ मा युद्धको घोषणा गर्यो । युद्धमा नेपालको हार भयो जसले गर्दा नेपालले वि.सं. १८७२ फागुन २३ मा सम्झौता गर्न बाध्य भयो । नेपालका तर्फबाट गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा अंग्रेजको तर्फबाट प्यारिस ब्राडसले हस्ताक्षर गरेका थिए । यो सन्धि पश्चात नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउनु परेको थियो । यो सन्धि सफल गरेकोमा गजराज मिश्रले अंग्रेज सरकारबाट निकै सम्पत्ति पाए ।
बदनाम तथा बदनियतपूर्ण यस सन्धिलाई नेपालमा सुगौली सन्धि भनेर सम्झने गरिन्छ । यहि सन्धि पछि नेपालमा ब्रिटिस रेसिडेन्ट सदाको लागी रहन थाल्यो । केही समयको लागि अस्थाई रूपमा पिटर बोलेउ रहे भने पछि एडवार्ड गार्डनर आए । यस पछि ब्राइन हड्सन नेपालमा ब्रिटिस रेसिडेन्टको रूपमा बसे । हड्सनको भूमिका निकै विवादास्पद रह्यो ।
युद्धपछि हामीले धेरै गुमाएको परिचर्चा वारम्वार हुने गर्छ । तर त्यस्तो होइन, कसैको खोसेर ल्याएको सम्पति हामीबाट खोसेर लगिएको हो । ति राज्य सयौ वर्ष देखि हाम्रा थिएनन् । हामीले पनि कसैसंग युद्ध गरेर लिएका थियौ । हामीले गर्व गर्नुपर्छ, हाम्रा हजारौ वर्षदेखी कायम रहेको राज्य अंग्रेजले खोसेन । हाम्रा जे थिए हामीसंग नै छ जो हाम्रा थिएनन् हामीबाट लगियो ।
वि.सं. १८१५ जेठ ४ मा अमरसिंह थापा र अक्टरलोनी बिच पश्चिम नेपालमा भएको समझदारी सन्धि पछि अंग्रेजले नेपाल सन्धि गर्न चाहन्छ भन्ने आकलन गरि सन्धिको बुंदा तैयार बनाउन थाल्यो । जसको कारण ६ महिना पछि ले.क. ब्राडशाको तर्फवाट १८७२ मंसिर १९ मा सन्धिको प्रस्तावित बुंदाहरू पठायो र कडा शव्दमा १५ दिन भित्र सन्धि गर्ने अन्यथा काठमाडौ आक्रमण गर्ने चेतावनी पठायो । तर नेपाल सरकारले बेवास्ता गरेर बस्यो । सन्धिमा नेपाललाई केही कमजोर बनाइएको थियो । जसको कारण राजा गिर्वाणको छाप लगाइएको थिएन । नेपाल भित्र निकै विरोधाभास भयो ।
सन्धिमा राजा गिर्वाणको छाप निकै समयसम्म लगाइएन । अन्तमा अंग्रेजले फेरी युद्धको चेतावनी दियो । यस बिच गजराज मिश्र भारत गइ नेपालले सन्धि नगर्ने युद्ध गर्ने घोषणा गरेको जानकारी गराए । माघ ३० मा अंग्रेज सेना फेरी अगाडी बढ्यो । यसरी बढेको सेना काठमाडौ नजिक पुगेपछि नेपाल सरकार अटालियो । तुरून्त राजाको लालमोहर लगाएको सन्धि पत्र बोकेर चन्द्रशेखर उपाध्याय हेटौडा पुगे ।
तिन दिनसम्म जितेको चुरिया सम्मको स्थानलाई सिमा निर्धारण गर्ने जिद्दि गरे अन्तत वि.सं. १८७२ फागुन २३ दिउसो साढे दुइ बजे अंग्रेज प्रतिनिधीलाई राजाको छाप तथा गजराज मिश्र तथा चन्दशेखर उपाध्यायबाट हस्ताक्षर भएको सन्धिपत्र बुझाए । यसरी सुगौली सन्धि नेपालले नचाहदा नचाहदै पनि बाध्य भएर स्विकार्नु पर्ने अवस्था आयो । आज पत्रकार या इतिहासकारले जे लेखे पनि जे भने पनि सुगौली सन्धिले नेपालको अस्तित्व जोगाएको हो । यदि त्यो समय अडिग भएर सन्धि गर्न नचाहेको भए हामी नेपाली भनेर गर्वका साथ बाचेका हुदैनथ्यौ । यो वाध्यता थियो यो सन्धिले नेपालको अस्तित्व जोगाएको थियो । संस्कृतमा भनिन्छ
सर्वनाशे समुत्पन्ने ह्यर्धं त्यजति पण्डितः ।
अर्धेन कुरुते कार्यं सर्वनाशः सदुःसहः ॥
सबै गुमाउनु भन्दा आधा गुमाएर आधालाई राम्रोसंग सम्भाल्नु नै बुद्धिमानी हुन्छ । सबै गुमाउनु निकै दुखदायी हुन्छ ।
यहासम्म अंग्रेजको षडयन्त्रपूर्ण भुमिकालाई उल्लेख गरे । अव नेपालको आन्तरिक अवस्थालाई बुझौ ।
अढाइ वर्षको उमेरमा वि.सं. १८३४ मार्ग ३ मा राजा भएका रणबहादुर शाहको नायवी चलाउन राजमाता राजेन्द्रलक्ष्मी र बहादुर शाह बिच रस्साकसि भैरह्यो । हत्या र हिंसाको राजनितीको शुरूवाट राजेन्द्रलक्ष्मीले वि.सं. १८४२ बैशाख १२ मा वंशराज पाण्डेको हत्याबाट शुभारम्भ गरे ।
वि.सं. १८४२ असार १ मा कास्कीलाई सहजै विजय गराइ नेपाल राज्यमा गाभ्न सहयोग गर्ने काजी स्वरूपसिंह कार्कीलाई पोखराको पहिलो वडाहाकिम बनाइएको थियो । उता राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई फर्पिङको जेलमा कैद गरि राखिएको थियो । तर संयोगवश जेल राखिएको केवल १२ दिनमा अचानक वि.सं. १८४२ सावन २ मा राजेन्द्रलक्ष्मीको मृत्यु भएपछि उनि जेलबाट निस्किए । जेलबाट निस्किए पछि नायवी लिए । साथै उनले आफ्ना दुश्मनको हत्या गरे ।
वि.सं. १८४२ सावन २४ मा काजी स्वरूपसिंह कार्की जो पोखराको पहिलो वडाहाकिमको रूपमा कार्यरत थिए, उनलाई कार्यकक्षमा नै बहादुर शाहले हत्या गराए । यसपछि बुबा पृथ्वीनारायणको सपना पुरा गर्दै बहादुर शाहले नेपालको सिमाना पूर्वमा सिक्किम र पश्चिममा कुमाउँ गढवालसम्म पुर्याए ।
रणबहादुरको उमेर पुगेपछि रणबहादुरले बहादुर शाहको नायवी हटाइ स्वयं राजकाज चलाउन थाले । त्यसपछि बहादुर शाह बिरुद्ध दरवार भित्र षडयन्त्रको शुरूवात भयो । विरोधीको सल्लाहमा लागी रणबहादुर शाहले बहादुर शाहलाई जेल हाले, जेलमा हस्ताक्षर गर्न नमानेका उनलाई नोलले पिटेर घाईते बनाईयो, चोटको पिडाले वि.सं. १८५४ असार २४ गते पशुपतिमा उनको मृत्यु भयो । यहि बिच रणबहादुर तिरहुते बिधवी कान्तीवतीको प्रेममा फसेर उनबाट जन्मेको छोरालाई राजा बनाउने मञ्जुरीमा बिबाह गरे ।
अन्तत वि.सं. १८५५ फागुन २८ गते बालक छोरालाई राजगद्दी सुम्पेर राजराजेश्वरीलाई नायवी चलाउन लगाए । आफू स्वामी निर्गुणानन्द बने । तर क्षयरोगबाट कान्तीवतीको मृत्यु भए पछि रणबहादुर बौलाए निकै गलत कार्यहरू गरे । मठ मन्दिर तोडफोड गरे, मुर्तिमा दिसा लगाए, ब्राम्हण पण्डितको अनादर गरे यसरी बहुलाएका रणबहादुरले राजकाजमा हस्तक्षेप पनि गर्न थाले । अन्तत सेनाले पनि साथ नदिए पछि भीमसेन थापालाई साथ लिई वनारस गए । रानी राजराजेश्वरी पनि साथ वनारस लागे । वनारसमा बस्दा पनि भीमसेनको सहयोगले षडयन्त्र गर्न थाले । पाण्डेको कारणले निर्वासित हुनु परेको चोटले पाण्डे विरूद्ध बिभिन्न षडयन्त्र गरे । १८५६ पछि सुवर्णप्रभाले नायवी चलाए । यता नेपाल सरकार बाध्य भएर अंग्रेजसंग हात मिलाउन पुग्यो र १८५८ को सन्धि गरे ।
वि.सं. १८५९ चैत ८ मा ब्रिटिस रेसिडेन्ट नक्स पनि निकालिए । यसको लगत्तै ब्रिटिस सरकारले नेपालसंग भएको सन्धि खारेज भएको घोषणा गरे । उता खर्च नपुग हुन थालेपछि रणबहादुरलाई कठिन भयो । अंग्रेज सरकारले रणबहादुरलाई नेपाल फर्कन बाध्य बनाए । रणबहादुर फर्कन लागेको चाल पाए पछि उनलाई रोक्न पठाएको सबै सैनिकले उल्टो रणबहादुरलाई नै साथ दिए । सेनाद्वारा दामोदर पाण्डे समातिए । फेरी राजकाजको वागडोर रणबहादुरको हातमा पुग्यो ।
वि.सं. १८६० फागुन २१ मा गिर्वाणको नायवीमा रणबहादुरले फेरी शासन गर्न थाले । भीमसेन थापा काजी बनाइए, उनका भाइ भतिजा आफन्त सबैले सरकारी खानगी-वानगी पाए, भीमसेन सर्वेसर्वा भए । यस पछि हत्या हिंसाको शुभारम्भ भयो । एउटा सनकी राजाको कारणले भीमसेन थापा काजी बने, सत्ताको नजिक पुगे ।
वि.सं. १८६० चैत ३ मा दामोदर पाण्डे र उनका छोरा रणकेशर काटिए । काटिनु अगाडी दामोदर पाण्डेलाई १२ दिनसम्म घाँटीमा पाङ्ग्रो बाँधेर उभ्याइएको थियो । शङ्खधरसिंहलाई घाटीसम्म गाडेर टाउकोमा खोटो लगाएर आगो सल्काइ मारियो । भीम खत्रीका एक छोरालाई हात खुट्टा बाँधेर दहमा मिल्काइ मारे, अर्कोलाई तीन दिन रूखमा उल्टो लट्काइ चौथो दिन काटियो । बाह्रजना सुसारेलाई लहरै उभ्याइ उनकै सामुन्ने पतिहरू एक एक काटिए ।
काजीको पद पाए पछि राजपरिवारसंग सम्बन्ध गास्ने उद्धेश्यले चैत १८६१ मा भीमसेन थापाले आफ्ना भाइ नैनसिंह थापाको केवल ११ वर्षको छोरी त्रिपुरासुन्दरीको बिबाह रणबहादुरका साथ गराएका थिए । यसपछि वि.सं. १८६२ फागुन १७ मा रणबहादुरबाट भीमसेन थापाले मुख्तियारी पाए । यसको दुई महिना पछि वि.सं. १८६३ बैशाख १४ को राती ९ बजे काजी त्रीभुवन खवासको घरमा छलफलको आयोजना गरियो ।
शेरबहादुर शाही र काजी त्रीभुवन खवास माथि बिभिन्न आरोप लगाइयो । रिसले अतालिएका शेरबहादुरले आवेशमा रणबहादुरलाई तरवारले काटे । तत्कालै संगै बसेका बालनरसिंहले शेरबहादुरलाई काटे । यसको भोलिपल्ट विदुर शाही, त्रीभुवन खवास तथा नरसिंह गुरूङ काटिए । तेश्रो दिन १५ जना भारदार काटिए ।
हेलम्बु पठाइएका रानी राजराजेश्वरीलाई ल्याएर नवौ दिन जवर्जस्ती १४ जना सुसारेको साथ सबैलाई सती जान बाध्य बनाइयो । सबै गरेर ९३ जनाको हत्या भएको यस भण्डारखाल आमहत्या पछि भीमसेन थापा सर्वेसर्वा बने । भतिजी त्रिपुरासुन्दरी ललिता त्रिपुरासुन्दरीको नाममा नायवी बने । यसरी भीमसेन थापाको उदय भयो ।
भीमसेन थापाको अन्त्य
हामी गर्व गर्छौ सदा हामी सार्वभौमसत्ता सम्पन्न राज्यका बासिन्दा हौ । तर हामीलाई वारम्वार यहाँका शासकहरू तथा प्रधानमन्त्रीहरूले लजास्पद बनाउने गर्छ । जसले गर्दा हामी कसैको दासको आभास गराउने गर्छ । यति मात्र होइन हामी कहाँ इतिहासकार हुँ भनेर इतिहास लेख्नेहरूले पनि दास प्रवृत्ति देखाउने गर्दछ ।
एनजिओ तथा आइएनजिओ तथा बिभिन्न राजदुतावासबाट प्राप्त रकमले इतिहास लेख्दछन् र नेपालका महान सपुत युगपुरूषहरूलाई गाली गर्न थाल्दछन् । एकलाई माथी उठाउन अर्कोलाई नै निकै तल झार्ने गर्दछन् । यसर्थ मलाई लाग्दैन नेपालका इतिहासकारहरू पनि निष्कलंकित छन् । यहि क्रममा भीमसेन थापालाई पनि तल्लो स्तरमा तुलना गर्ने इतिहासकारहरू पनि छन् ।
काजी भीम मल्लकी रानीले आफ्ना पतिले राज्य विस्तार गरि कुतीसम्म पुर्याएर खुशीको खवर दरवारमा सुनाउन आउँदा दरवारको ढोकामा नै काटिएका थिए । पतिको मृत्यु पछि सति जाने बेलामा सरापेका थिए, ‘यो राज्यमा विवेक नरहोस्’ । आज सम्म पनि यो देशको अवस्था त्यस्तै छ, यो देशमा केवल शासकको मात्र होइन जनताको पनि विवेक छैन ।
सुगौली सन्धि पछि एक पटक फेरी अंग्रेजहरू नेपालमा सलबलाउन थाले । दामोदर पाण्डेको अंग्रेजसंगको ब्यापारिक सन्धि पछि पहिलो पटक वि.सं. १८५८ मा अंग्रेजले काठमाडौमा ब्रिटिस रेसिडेन्ट राख्ने अवसर पाए । विलियम हन्टर डगलस नक्स नेपाल आए, तर नेपाल सरकारले राम्रो साथ दिएन, भोटसंग ब्यापारको कुटनीति पनि सफल भएन ।
वनारसमा रणबहादुरलाई सहयोग गरेको बहानामा १७ महिनामा नै नेपालबाट निकालेर पठाए । यस पछि नेपाल छिर्न नपाएको अंग्रेज सुगौली सन्धि पछि खुशीले रेसिडेन्ट राख्न आइपुग्यो । सुगौली सन्धिको तैयारी गरिरहँदा नै गजराज मिश्रलाई अक्टरलोनीले भनेका थिए, “सम्झौतामा कुनै पनि बुंदामा बिचार गर्न सकिन्छ तर रेसिडेन्टको बिषयमा कुनै प्रश्नचिन्ह राख्न पाइदैन” । अंग्रेजको मुल उद्देश्य रेसिडेन्टबाट नै देशको स्वतन्त्रतामा खलल पुर्याउन सकिन्छ भन्ने मान्यता थियो ।
सुगौली सन्धि पछि रेसिडेन्टको रूपमा एडवार्ड गार्डनरको नियुक्ति भयो तर उनि समयमा आउन सकेनन् । जसले गर्दा केही समय अस्थाइ रूपमा रेसिडेन्टको रूपमा जोँन पिटर बोलिउ बसे भने त्यसको केही समयमा नै एडवार्ड गार्डनर आए । जसले नेपालमा १३ वर्ष बिताए, तर भीमसेन थापाले ब्रिटिस रेसिडेन्टलाई त्यति स्वतन्त्रता दिएको थिएन । रेसिडेन्टले मुख्तियार भन्दा अन्यसंग भेट्न पाइदैनथ्यो । तसर्थ जति षडयन्त्रको चाहना बोकेका थिए । त्यो पुरा हुन दिइएन, त्यसैले उनिहरू भीमसेन थापालाई नै सत्ताबाट हटाउने षडयन्त्रमा लागे । १८८२ मा सहायक रेसिडेन्टको रूपमा काठमाडौ छिरेका हगसन १८८६ मा गार्डनरको बिदाइ पछि रेसिडेन्ट भए ।
तर अंग्रेजलाई त्यसपछि पनि भीमसेन थापाले हस्तक्षेप गर्न दिएनन् । गार्डनर केही नरम भए पनि हगसन केही कठोर थिए, तसर्थ दरवारको नजिक हुने कोशिस थालिहाले । भीमसेन थापाका दुश्मन दामोदर पाण्डेका छोरा रणजित पाण्डेको नजिक हुन पनि कोशिस गरे । हगसनको एउटै कोशिस भीमसेनलाई सत्ताबाट कसरी हटाउन सकिन्छ भनेर लागे ।
हगसन निकै पढेलेखेका ब्यक्ति थिए । नेपालको संस्कृति एवं संस्कृतका पुस्तकहरूको निकै अध्ययन तथा संकलन गर्दथे । उनको नेपालको पशुपंछि, बनस्पती तथा संस्कृतीको अध्ययनको साथ नेपालीहरूको आनीबानीको पनि अध्ययन गर्न सक्षम भए । तर दरवारमा नायवी रानी ललितत्रिपुरासुन्दरी भीमसेनका भतिजी थिए । यसर्थ भीमसेन दरवारबाट ढुक्क थिए । तर राजेन्द्रका रानीहरू जो १८८० माघ २५ मा गोरखपुरबाट बिबाह गरि पसेका थिए, शुरूमा त मात्र १० वर्षका थिए, उनिहरूलाई राजकाजसंग कुनै चासो रहेन तर पछि बिस्तारै राजकाजमा चासो लिन थाले ।
१८८८ चैत्र २७ मा अचानक रानी ललितत्रिपुरासुन्दरीको मृत्यु भए पछि अंग्रेज र पाण्डेहरुले छिट्टै नै दरवारलाई आफ्नो प्रभावमा पार्न सफल भए । बिस्तारै रानीहरूको राजनीतिमा रूचि बढ्यो, जसले गर्दा अंग्रेजको चाहना पुरा हुन थाल्यो । रानीहरूको साथ साथ रेसिडेन्ट पनि सलबलाउन थाले । भीमसेन थापालाई हटाउन तीन शक्ति लागे । रेसिडेन्ट, पाण्डे तथा जेठी महारानी साम्राज्य लक्ष्मी तीनै शक्ति थापाको बिरूद्ध थिए ।
यस्तैमा अचानक १८९४ सावन १ गते पजनीको बहानामा भीमसेन थापाको सेना प्रमुखको पद खोसियो । अव केवल मुख्तियार मात्र रहे । १८९४ को सावन ११ मा युवराज देवेन्द्रको मृत्युलाई भीमसेनले बिष खुलाएको आरोप लाग्यो । यसपछि भीमसेनको पतन शुरू भयो । उनलाई सर्बश्व सहित नेल र हटकडी लगाएर जेलमा राखियो ।
३१ वर्षसम्म अनवरत देशको सेवा गरेका भीमसेन केवल शंकाको भरमा जेलनेल तथा सर्वश्व गराइयो । बिद्रोहीहरू सफल भएकोमा खुशी हुन थाले र मुख्तियारको रूपमा रणजङ्ग पाण्डे बनाइयो । तर अनुभवहिन रणजङ्गलाई भारदारहरूले सहयोग नगरे पछि तीन महिनामा नै निस्काशित गरिए र उनको स्थानमा राजगुरू पं. रङ्गनाथ पौड्याललाई मुख्तियार बनाइयो ।
अन्तत १८९४ को अन्तमा भीमसेन थापा माथि लागेको आरोप फिर्ता भयो । पुरानो घर बोर्लाङ जाने अनुमति पाए पछि भीमसेन थापा गोरखा फर्केर गए । यता राजनीतिमा फेरी चलखेल शुरू भयो । १८९५ को असोजमा साम्राज्ञलक्ष्मीका बिश्वासपात्र रणजङ्ग फेरी एकचोटी मुख्तियार बन्न सफल भए । १८९६ को बैशाखमा भीमसेन थापालाई काठमाडौ बोलाइयो । राजा राजेन्द्रका सल्लाहकार बने । रानी साम्राज्ञलक्ष्मीबाट असारमा फेरी उनि माथीको आरोप उल्टाइयो र फेरी नजरवन्दमा राखियो ।
भीमसेन थापा माथी मानसिक दवाव यस्तो बनाइयो कि उनको मन टुट्यो । नजरबन्दमा रहेका उनलाई गलत समाचार सुनाइयो, ‘उनको दुइ पत्नीलाई नाङ्गो बनाएर बजार घुमाइदैछ’ । यो खवरले उनको मन टुट्यो, यस्तो सुन्नु अगाडी किन मेरो मृत्यु भएन भन्दै वि.सं. १८९६ सावन ८ गते आफ्नै दरवारको एक कोठामा झ्यालको शिशा फुटालेर त्यहि शिशाले गला काटे ।
चोटले छटपटाएका उनको मृत्यु भएन । यो खवर छिट्टै दरवार पुग्यो । राजा राजेन्द्र र रानी साम्राज्ञलक्ष्मीले भीमसेनलाई घिसारेर बिष्णुमती लैजान लगाए । उपचारको सत्ता उनको शरिर घिसार्दै बिष्णुमती किनारमा फेकियो । आज जहाँ भीममुक्तेश्वरको मन्दिर छ, त्यहि कालिमाटी नजिकै फेकियो । केही आठपहरियालाई कसैलाई पनि नजिक जान नदिने उर्दि लगाइयो ।
वर्षातको महिना रातभर पानीले भिज्दथ्यो, चोटले चिच्याउथ्यो तर कसैलाई पनि जान दिइदैनथ्यो । अन्तमा नवौ दिन भीमसेन थापाको छटपटाउँदा छटपटाउदै मृत्यु भयो । देशका एक सच्चा सेवक जसले अंग्रेज सामु कहिल्यै झुक्न चाहेन उसको दर्दनाक मृत्यु भयो । भनिन्छ मृत्यु पछि पनि लाश उठाउन तथा सद्गति गर्न दिइएन ।
लाशलाई कुकुर, स्याल र गिद्धले चिथोरेर खान दिइयो । निकै समय पछि एउटा हल्ला फैलियो, लाशमा टाउको र दाहिने हात थिएन । धेरै पछि केही ब्यक्तिले वयान दिए, लाशको टाउको हगसनले लण्डन पुर्याएका थिए भने दाहिने हात चौतरिया फत्तेजङ्ग शाहले लगेका थिए ।
यसरी एक देशभक्त पुरूषको अन्त्य भयो । भीमसेनको अन्त्यले केही राजनैतिक दावपेचहरूको शुरूवात भयो । देशको लागी दुर्भाग्यको शुरूवात भयो अंग्रेजहरूले हस्तक्षेप गर्न थाले । दुइ रानीमा जेठी रानी साम्राज्ञलक्ष्मीको छिट्टै निधन भयो, कान्छी रानी राज्यलक्ष्मी देवीको आधिपत्य शुरू भयो । हरेक कुरामा अंग्रेजको हस्तक्षेप हुन थाल्यो । जसले गर्दा कोतपर्व भयो, र जङ्गबहादुरको उदय भयो । देशले केवल आठ वर्षको अन्तरालमा पाँच मुख्तियारको आठ कार्यकाल पाए ।
आज केहि इतिहासकारहरू उनको अन्तलाई उनको आफ्नै कर्तुतले गर्दा भएको भन्ने गर्दछन् । राजनीतिकर्मीहरू एक अर्काको गल्ती खोज्दै हिड्छन् । तर सच्चा जनता उनको योगदान सम्झने गर्दछन् । पृथ्वीनारायणले एकिकरणको क्रममा कति हत्या गरे भनेर होइन हामी उनले नेपाल भन्ने सिङ्गो राज्य बनाएकोमा मान्दछौ, अहिले देशमा माओवादीले द्वन्दकालमा कति मारे भन्नु भन्दा देशको राजनीतिमा साथ लागेर शान्ति ल्याएकोमा सन्तुष्टी मान्दछौ ।
सधै उसको गल्तीमात्र औल्याउन थाल्यो भने फेरी देश द्वन्दकालमा फर्केर जान्छ । तसर्थ भीमसेनको मुख्तियारी कालमा देशले के के पायो भन्ने महत्वपूर्ण छ । उसको कारणले मृत्यु भएका केही ब्यक्तिलाई सम्झनु भन्दा उनको योगदानलाई सम्झनु पर्छ । त्यो बेलाको राजनीति हत्याको राजनीति थियो । एकलाई माथी पुग्न अर्कोको हत्या गर्ने अवस्था थियो । कसले कति मारे होइन कसले देशको लागी के दिए भनेर उनको योगदानको कदर गर्न सक्नुपर्छ । इतिहास कसैको दवाव वा समर्थनमा होइन सत्यता बोकेको हुनुपर्छ ।
भीमसेन थापाका केही महत्वपूर्ण कार्यहरू
- भीमसेन थापाको समयबाट नै मुख्तियार पदको ब्यबस्था भयो । जसलाई पछि माथवरसिंह थापाले प्रधानमन्त्री भनेर नामाकरण गराए ।
- १८८१ मंसिरमा धरहरा बनाइ गजुर चढाएका थिए । पछि वि.सं. १८८३ बैशाख ९ मा रानी ललित त्रीपुरासुन्दरीको नाममा अर्को धरहरा तैयार गराएर गजुर चढाइएको थियो । पछि १९९० को भूकम्पले दुवै भत्के पनि रानी ललित त्रीपुरासुन्दरीको नामको धरहरालाई जिंणोद्वार गरइएको थियो । तर नाम भने भीमसेन स्तम्भ भनेर नै चिन्न थालियो ।
- वि.सं. १८८१ फागुन २२ मा भक्तपुरको सिद्धपोखरी बनाए ।
- वि.सं. १८८२ मंसिर १० मा पोखरा पार्दीमा बाँध बाँधेर सिचाइको ब्यबस्था गराए ।
- वि.सं. १८८२ फागुन १० मा सेनाको सुदृढीकरण गर्ने मनसाय स्वरूप सेनाको लागी ब्यारेकको ब्यबस्था गराउन लालमोहर गराए ।
- १८८३ मा राहदानीको ब्यबस्था गराउन लगाए ।
- १८८५ फागुनमा सबैलाई सहज रूपमा खाने पानीको ब्यबस्था गराउन सुन्धारा बनाइदिए ।
- १८८५ को जेठमा काठमाडौ र पाटन जोड्ने बागमतीको पुल बनाए ।
- १८८७ मा जैशीहरूमा चल्दै आएको मामाकी छोरी बिबाहमा बन्देज लगाए ।
- वि.सं. १८८८ पौष १५ मा नेवार जातीको बिभिन्न काममा राखिने दस्तुर तथा सामग्री तोकिदिए ।
- सेनामा कर्णेल तथा कप्तानको रूपमा बिदेशी सिको भित्राए ।
- १८९३ मा अनिकाल पर्दा अन्नको राम्रो ब्यबस्था मिलाए ।
प्रतिक्रिया