आइतबार, जेठ ५, २०८२

ट्युनिसियाको तटमा ९०० भन्दा बढी आप्रवासी डुबिसके

नेपालखोज २०८० साउन १६ गते ६:०९

काठमाडौं । ट्युनिसियाको आन्तरिक मन्त्रालयले जुलाई २० सम्म भूमध्यसागरबाट ९०१ शव फेला परेको जनाएको छ । यी सबै समुद्री दुर्घटनाको शिकार भएका छन्।

नेशनल गार्डका प्रवक्ता होसेम एडिन जेब्बालीले यसअघि जुनको अन्त्यसम्ममा ८०० आप्रवासीको मृत्यु भएको बताएका थिए भने ३४,००० भन्दा बढी मानिसलाई बचाइएको थियो। तीमध्ये अधिकांश उप-सहारा अफ्रिकाका थिए।

संयुक्त राष्ट्र संघले भविष्यमा यस्तो दुखद घटना हुन नदिन चेतावनी दिएको छ । यससँगै ट्युनिसियामा फसेका सयौं आप्रवासी तथा उनीहरुको सुरक्षाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । इटालीको लाम्पेडुसा टापु ट्युनिसियाको स्फ्याक्स सहरबाट १३० किलोमिटर मात्र टाढा छ।

इटालीबाट ट्युनिसियाको छोटो दूरी यो अनियमित आप्रवासी र शरणार्थीहरूको गढ बन्नुको प्रमुख कारण हो। यहि बाट मानिसहरु राम्रो जीवनको खोजीमा युरोपको यात्रामा निस्कन्छन । तथापि उनीहरूले यात्रा गर्ने डुङ्गाहरू प्रायः खतरनाक समुद्रको सामना गर्न सक्ने गरि निर्माण गरिएका हुँदैनन्।

हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ

कोस्ट गार्ड इकाइहरूले यो समस्या समाधान गर्न हालसम्म १,३०० भन्दा बढी अपरेशन सञ्चालन गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन भएको अभियानको तुलनामा दोब्बर बढी हो । ट्युनिसियाको आन्तरिक मन्त्रालयले यो वर्ष मानव बेचबिखनमा संलग्न ५ सय ५० भन्दा बढी तस्कर र दलाल पक्राउ परेको जनाएको छ।

इटालियन सरकारले यो वर्ष अहिलेसम्म ८० हजारभन्दा बढी मानिस भूमध्यसागर पार गरेर यसको किनारमा पुगेको बताएको छ । तीमध्ये अधिकांश ट्युनिसिया र युद्धग्रस्त लिबियाका हुन्। संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) का अनुसार मध्य भूमध्यसागर विश्वको सबैभन्दा घातक आप्रवासी मार्ग बनेको छ। यसमा सन् २०१४ देखि २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

ट्युनिसियामा तनावको कारण

ट्युनिसियाको जनसंख्या लगभग १ करोड २० लाख छ। यो देसले आफैं गहिरो आर्थिक संकटको सामना गरिरहेको छ । आप्रवासीहरुको मार्गमा महत्वपूर्ण केन्द्र बनेकाले मुलुकमा जातीय तनाव र हिंसा पनि बढेको छ । उच्च मुद्रास्फीति र बेरोजगारीका कारण धेरै ट्युनिसियालीहरू आफ्नो देश छोडेर भाग्न खोजिरहेका छन्। अफ्रिकी आप्रवासीहरू र विद्यार्थीहरू राष्ट्रपति काइस सइदको भडकाऊ बयान पछि जेनोफोबिक आक्रमणको शिकार भएका छन्।

सैयदले उप-सहारा आप्रवासीहरूको हडबडिले अपराध निम्त्याइरहेको आरोप लगाएका छन्। उनले भने – यसले मुख्यतया अरब देशका लागि जनसांख्यिकीय खतरा सिर्जना गरिरहेको छ। –AFP

प्रतिक्रिया