चोरी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर थाहा नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय बिकास देउला (पोडे)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सुजनको घरमा साउन ६ गते राति सुन तथा हिराका गरगहना र नगदसमेत गरी करिब ८५ लाख २६ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीका सामानहरू देउलासँग रहेको खुल्न आएपछि उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।
साथै उक्त कार्यमा हाल अभद्र व्यवहार कसूरको अनुसन्धानको सिलसिलामा प्रहरी वृत्त मालिगाउँको थुनामा रहेका सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भएका ३२ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठको समेत संलग्नता रहेको खुल्न आएको छ ।
देउलालाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
प्रतिक्रिया