नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आज भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल लगभग पक्कापक्की जस्तै बनाउन चाहन्छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २.५ ओभरमै पूरा गरेको थियो ।
बहराइनविरुद्ध ३ चौकासहित १८ रन बनाएकी कविता कुँवरलाई नेपालले आजको खेलमा ओपनरलाई खेलाउन सक्छ । कविता आक्रामक ब्याटर हुन् । कविताले ओपनिङ गर्दा काजोल श्रेष्ठले तल्लोक्रममा खेल्न सक्छिन् ।
सीता रानामगर, इन्दु बर्मा र रुविना क्षेत्री बेलबासे नेपालका प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीको ब्याटिङ र बलिङ दुबै निकै महत्वपूर्ण हुनेछ । नेपाल कमजोर भुटानमाथि सहज जित हात पार्न चाहन्छ ।
नेपालले भने आक्रामक रुपमा रन जोड्न आवश्यक देखिन्छ । बहराइनसँगको खेल बाहेक अन्यमा नेपालले निकै सुस्त गतीमा ब्याटिङ गर्दै आएको छ । तीव्र गतिका बलर अश्मिना कर्माचार्य र कविता कुँवरको जोडी भुटानलाई घातक बन्नसक्छ । त्यस्तै स्पिनर खुशी डंगोलले पनि राम्रो प्रभाव जमाउँदै आएकी छिन् ।
नेपालले मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।
प्रतिक्रिया