‘अल्जाइमरको समस्या न्यूनीकरणका लागि सहकार्य आवश्यक’

गण्डकी । अल्जाइमरको समस्या न्यूनीकरणका लागि सम्बद्ध सबैको सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । विश्व अल्जाइमर दिवसका अवसरमा ज्येष्ठ नागरिक सङ्घ गण्डकीले आज आयोजना गरेको सचेतना कार्यक्रमका वक्ताले सम्बद्ध सबै पक्षको सहकार्यबाट यस रोगको न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
डा विकास गौचनले यो अल्जाइमर (बिर्सने रोग)को तथ्याङ्क नेपालमा विश्वसनीय नरहे बताए । सम्बद्ध सबैको सहकार्यमा यसको न्यूनीकरण गर्न सकिनेमा जोड दिँदै उनले अल्जाइमर रोगको परिचय, बढ्न नदिने उपाय र लागि सकेपछि गरिने उपचार एवं स्याहारसुसार सम्बन्धमा प्रशिक्षण दिए । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ केन्द्रीय समितिका कावा महासचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले अल्जाइमर रोगको न्यूनीकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नुपर्ने बताए ।
सङ्घीय सरकारसँग ज्येष्ठ नागरिक महासङ्घले मिलेर काम गरिरहेको बताउँदै उनले प्रदेश र स्थानीय तहमा पनि मिलेर काम गर्नुुपर्ने आवश्यकता औँल्याए । संविधानसभा सदस्य कृष्णबहादुर गुरुङले ज्येष्ठ नागरिक भएर पनि अहिलेसम्म उत्पादनमा जोडिएको बताउँदै आफ्नो बाँकी समय ज्येष्ठ नागरिकका क्षेत्रमा लगाउने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ गण्डकीका अध्यक्ष गुमानसिंह कार्कीले अल्जाइमर दिवसको महत्वबारे प्रकाश पार्दै सबैको सहकार्यमा यसको न्यूनीकरण गर्न सकिने धारणा राखे
प्रतिक्रिया