आईसीसी एकदिवसिय विश्वकप : पाकिस्तान भारतसँग पराजित

काठमाडाैं । भारतमा जारी आईसीसी एकदिवसिय विश्वकपमा पाकिस्तान भारतसँग पराजित भएको छ । शनिबार अहम्दाबादको नरेन्द्र मोदी क्रिकेट रगशालामा भएको खेलमा घरेलु टोली भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।
भारतको यो जारी विश्वकपमा लगातार तेस्रो जित हो । भारतले यसअघि पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो ।
भारतको जितमा कप्तान रोहित शर्माले ६३ बलमा समान ६ चौका र छक्कासहित ८६ रन बनाए । श्रेयस ऐयर ५३ र केएल राहुल १९ रनमा अविजित रहे । सुभमन गिल र विराट कोहलीले समान १६ रन जोडे ।
पाकिस्तानका साहिन साह अफ्रिदीले दुई र हसन अलिले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानी टिमले ४२.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो ।
प्रतियोगितामा पाकिस्तानको यो पहिलो हार हो । लगातार तेस्रो जित निकालेको भारत ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट चार अंकको पाकिस्तान चौथो स्थानमा छ ।
प्रतिक्रिया