सोमबार, जेठ ६, २०८२

तामाङ नमुना एकीकृत बस्ती : बजेट अभावले अलपत्र

नेपालखोज २०८० कार्तिक १४ गते ७:२०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण रोकिएको एक वर्ष भयो । बजेट अभावमा निर्माण अलपत्र परेको उक्त बस्ती निर्माणको काम विसं २०७४ मा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको थियो ।

बस्ती निर्माणको योजनाअन्तर्गत केही घर बन्न बाँकी रहेका छन् भने बनेका घरले पूर्णता पाउन बाँकी छ । नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा एक वर्षदेखि निर्माणको काम रोकिएको निर्माण समितिले जनाएको छ । समितिका अनुसार छ घर निर्माण बाँकी रहेको छ ।

उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको काम अलपत्र बनेको हो । बाँकी काम सक्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए । उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइएको हो ।

उ्नले सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमुना तामाङ बस्तीको परिकल्पना गरिएको बताए । नगरप्रमुख टोकबहादुर तामाङ अघिल्लो चरणमा लगेको पेस्की फछ्र्याेट भएपछि बस्तीको लागि निर्णय गरिएको रकम दिन सकिने बताउछन् ।

यसअघि नगरले दश लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरिद गरी बिल नगर कार्यालयमा पेस गरिसकिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो ।

निर्माण समितिका अध्यक्ष आइतमान तामाङले पटक–पटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कमालाई निरन्तरता दिइएको बताए । समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा दुई करोड ८० लाख रकम निकासा भएको थियो । उक्त रकमबाट एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउने योजना बनाइएको थियो ।

प्रतिक्रिया