शनिबार, जेठ ४, २०८२

भुईँचालोको सन्देश

किशोर नेपाल २०८० कार्तिक २२ गते ९:१८

भुईँचालो सर्वाधिक डरलाग्दो मानवीय सङ्कट हो । कसैले सुमसुम्याएर समाधान नहुने यो सङ्कटबाट बाहिर निस्किन मानिसले आफैँ मेहनत गर्नुपर्दछ । राजनीतिक नेताहरू र सङ्कट व्यवस्थापनका लागि खटिएका कर्मचारीहरूबाट मात्र भूकम्प-पीडितको उद्धार हुन्छ भन्नु मनोगत कुरा हो ।

पहिलो राष्ट्रिय जन-आन्दोलनको पूर्वसन्ध्यामा धरानलाई केन्द्रबिन्दू बनाएर आएको बिनासकारी भुईंचालोको सन्देश बिस्तारित थियो । यो भुईंचालोपछि राजा बीरेन्द्रले सुधारको घोषणा गरे । तर, यो सुधार एक दशक पनि टिकेन । जनयुध्दमा लागेका माओवादी र संवैधानिक हैसियत भएका राजनीतिक दलहरु मिलेर गरिएको त्यसपछिको आन्दोलन गणतन्त्र स्थापनाको हकमा निणर्ायक सावित भयो ।

नेपाललाई संघीय गणतन्त्र घोषणागर्ने संविधान निर्माणगर्दा दोस्रोपटक निर्वाचित संविधान सभाका सदस्यहरुको हात कामेका थिए । नेपाली राज्यलाई संघीय गणतन्त्रका दुइ शब्दमा अलमल्याएर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, माओवादी केन्द्र, समाजवादी कम्युनिष्ट, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी सबै सत्ताको सिध्दान्तहीन खाल्डोमा जाकिए । त्यसपछिको अवस्था सबैको सामुन्नेमा छ । सरकार टिकटक हेरेर ‘रमाएकोछ ।’ सामाजिक सन्जालमा जसको ब्यापक लगानी छ उ हीरोको भूमिकामा छ ।

नेपालमा मुठीभर स्वदेशी र विदेशी सम्पन्नहरुले ठगेर कमाउने आर्थिक पध्दति स्थापित छ । राजाको निर्दलीय पन्चायत, बहुदलवादीको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रहुँदै माओवादी सहितको संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत यही ब्यबस्था सर्वाधिक लोकप्रिय छ । सिक्टा, मेलम्ची, विमानस्थल लगायतका सयौं योजनाबाट दुइ पैसा आर्जनगर्न सकेको छैन देशले ।

यही अवस्थामा भुईंचालोको धक्काले जाजरकोट र रुकुम पश्चिमका जनता असीम दुःखमा परेका छन । प्रधानमन्त्री प्रचण्ड तथा रुकुम र जाजरकोटका जन-प्रतिनिधि जनार्दन शर्मा तथा शक्ति बस्नेत शनिवार बिहानै घटनास्थल पुगेर फर्किइ सकेका छन । अब त्यहाँ पर्याप्त राहत र त्यो राहत इमान्दारीसाथ ब्यबस्थित बितरणगर्ने जनशक्तिको खाँचोछ ।

प्रधानमन्त्री प्रचण्डले आफनो क्षमताको प्रयोग त्यसैमा लगाउनु पर्दछ । उनी जनयुध्दका सफल कमाण्डर भएकाले प्राकृतिक बिपत्तिसंग पनि संघर्षगर्न सक्छन भन्ने लागेकोछ मानिसहरुलाई । सर्वोपरि त, देशको डाडु-पन्यौ उनैको हातमा छ । भुईचालोग्रस्त क्षेत्रमा संकटकालीन नीतिको अवलम्वन गर्नु पर्दछ । संभार, सुधार र निर्माणमा एकाग्रता संकटमोचनको पहिलो शर्त हो ।

प्रतिक्रिया