शनिबार, जेठ ४, २०८२

दीपावली र रङ्गोली दियो बजारमा

नेपालखोज २०८० कार्तिक २२ गते १४:४७

टीकापुर (कैलाली) । कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ ।

सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो ।

उत्पादन भएका दियो बजारका पसल तथा स्थानीयले माग गरिरहेका समितिका सचिव द्वारिकाप्रसाद जोशीले जानकारी दिए । ‘विदेशमा रहेका नेपालीले आ–आफ्नो घरमा पुर्याइदिन माग गरिरहेका छ । हामीले घरमै पु¥याउने गरेका छौँ’, उनले भने, ‘बजारमा पनि यसको माग उच्च छ । आजबाट हामीले बिक्री थालेका छौँ ।’

उत्पादित सामग्रीमा ५० प्रतिशतसम्म नाफा रहेको जोशीले बताए । उनका अनुसार गौशालामा भगवान्का मूर्ति, धूपबत्ती, शुभलाभ, लक्ष्मीका पाइलासमेत बिक्रीका लागि राखिएका छन् ।

समितिका सदस्यले तालिम लिएर गाईको संरक्षण गर्ने तथा आम्दानी पनि गर्ने उद्देश्यले गोबरबाट यी सामग्री उत्पादन थालेका जोशीले बताए । ‘गौशालाका केही सदस्य गाईको गोबरबाट धूपबत्ती र गोबरका विभिन्न सामग्री निर्माणबारे भारतको काशिपुर गएर तालिम लिएर आएका हुन् । यसका साथै गोबरको मल बिक्रीसमेत गर्ने गरिएको छ’, उनले भने ।

गौशालाले योसँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायत सामग्री निर्माण थालेको छ । साथै गाई संरक्षणका लागि टीकापुरमा श्रीमद्भागवत् महायज्ञ गर्न तयारीसमेत भइरहेको गौशालाका सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार मङ्सिरमा महायज्ञ सञ्चालनका लागि विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल भइरहेको छ ।

‘गाई संरक्षणमा हामी जागेका छौँ । गाई पाल्नका लागि स्थानीयस्तरमै आम्दानीका स्रोतको खोजी गरी आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि काम गरिरहेका छौँ’, न्यौपानेले भने, ‘यसमा सबैको साथ र सहयोग हुनुपर्छ । गाई संरक्षणका लागि आर्थिक जोहो गर्न महायज्ञ गर्न थालिएको हो ।’

समितिले गाई संरक्षणका लागि गरेका कार्यले सबैलाई सहज हुनाका साथै किसानलाई बढी लाभ भएको स्थानीय बताउँछन् । गाई संरक्षणका साथै विभिन्न सामग्री उत्पादन गरेर युवाले गरिरहेका कार्यमा सबैको साथ आवश्यक रहेको स्थानीय शेरबहादुर विष्टको भनाइ थियो । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले अहिले सात सयभन्दा बढी गाई संरक्षण गरिरहेको छ ।

प्रतिक्रिया