बिहीबार, जेठ २, २०८२

पचास हजारले अवलोकन गरे नगरकोट महोत्सव

नेपालखोज २०८० कार्तिक २६ गते १६:२४

भक्तपुर । तिहारको रौनकताले नगरकोट आफैमा झिलिमिली । त्यसमाथि पनि तीन दिने नगरकोट सडक महोत्सवले सजिएको यहाँको सडक तथा उद्यान क्षेत्र । झिलिमिली नगरकोटमा शनिबार रात छिपिँदै जाँदा हजारौँ युवायुवती साङ्गीतिक कार्यक्रममा झुम्मिएका थिए । नगरकोट नाल्दुम पर्यटन विकास समितिले नगरकोट सडक महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा कलाकार विश्व दोङ, खुमन अधिकारी, सरोज लामिछाने, राधिका हमाल, स्मृति गौतम, राजेश ढकाल, राजकुमार नेपाली, कोपिला वाइवा, शारदा साइली, कमला दोङ, रचिन राईलगायतको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

भूकम्प र कोरोना महामारीका कारण थला परेको नगरकोटको पर्यटन व्यवसायलाई चलायमान बनाउन यही कात्तिक २३ गतेदेखि सडक महोत्सव आयोजना गरिएको थियो । महोत्सवका कारण आन्तरिक र बाह्य पर्यटकको चाप बढेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले बताए ।

‘महोत्सवको ५० हजार जनाभन्दा बढीले अवलोकन गरेका छन्’, उनले भने । होटल तथा रेस्टुरेन्टका २५ कक्ष राखिएकामा सबैमा किनमेल राम्रै भएको उनले बताए । पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै कलाकारको विभिन्न साङ्गीतिक प्रस्तुतिबाट मनोरञ्जन लिएका थिए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी २०८२ साललाई नगरकोट भ्रमण वर्षका रुपमा मनाउन लागिएको बताए । नगरकोटको पूर्वाधार विकासका लागि चालू आवमा एक करोड विनियोजन गरिएको बताए ।

चाँगुनारायण–६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकासका लागि नगरकोटसँग सिमाना जोडिएको भक्तपुरको चाँगुनारायण, काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा काठमाडौंको शंङ्करापुर नगरपालिकाले एकीकृत पर्यटकीय विकासको अवधारणाका साथ काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया