परम्परा झल्काउने तिहारे मेला

गण्डकी । भाइमाला उन्ने प्रतियोगितादेखि मौलिक सोरठीको प्रस्तुतिसम्मले यहाँ आयोजित तिहारे मेलामा मौलिकता थपेको थियो । तिहारको छेकोमा बागलुङको गलकोट नगरपालिका–७ मल्ममा लागेको सो मेलाले परम्पराको झल्को दिन्थ्यो ।
जनहित कला केन्द्रद्वारा आयोजित तिहारे मेलामा भाइमाला उन्ने, टीकी टाँस्ने, सोरठी, मौलिक नृत्य, रस्साकस्सी, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकी आदि समावेश थिए । तीन दिनसम्म चलेको मेला मङ्गलबार सकिएको केन्द्रका अध्यक्ष ईश्वर थापाले बताए ।
‘तिहार पर्वको मौलिकतालाई यो मेलासँग जोड्ने प्रयास गर्दै आएका छौ’, थापाले भने, ‘कला, संस्कृति र खेलकुदको जगेर्ना गर्ने उद्देश्यले वि.सं २०६९ देखि तिहारे मेलाको सुरु गरिएको हो ।’
भाइमाला उन्ने र टीकी टाँस्ने प्रतियोगिताले मेलामा छुट्टै आकर्षण थपेको अध्यक्ष थापाले बताए । छिटो र राम्रो माला उन्ने महिला उक्त प्रतियोगितामा विजयी हुने उनको भनाइ छ । यसपालि भाइमाला उन्ने प्रतियोगितामा माया दर्जी प्रथम र गुमा थापा द्वितीय भएका थिए । दर्जीले दुई हजार र थापाले एक हजार पुरस्कार हात पारे ।
टीकी टाँस्ने प्रतियोगितामा भुमा खड्का प्रथम र भुमा विश्वकर्मा द्वितीय भएका थिए । खड्काले एक हजार र विश्वकर्माले पाँच सय पुरस्कार प्राप्त गरे । कलाको उत्थान र परम्पराको रक्षाका लागि मेला सहयोगी बनेको केन्द्रका निवर्तमान अध्यक्ष ज्ञानबहादुर थापाले बताए ।
मेलामा मल्ममा प्रचलित सोरठी गीत र नृत्यले पनि दर्शकलाई लोभ्याउने गरेको ज्ञानबहादुरको भनाइ छ । पञ्चेबाजा, भजनलगायत सांस्कृतिक भाँकी पनि मेलामा प्रदर्शन गरिएको थियो । लोकनृत्य प्रतियोगितामा मौलिक वेषभुषामा सजिएका कलाकारको प्रस्तुती पनि बेजोड देखिन्थ्यो । रस्साकस्सी प्रतियोगिताले उस्तै रौनक थपेको थियो ।
रस्साकस्सीमा आरानटोल समूह प्रथम भएर रु चार हजार पुरस्कार हात पार्यो भने आयोजिक टिमले दोस्रो स्थान हासिल गरी दुई हजार पुरस्कार प्राप्त गर्यो । सामूहिक लोकनृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने आयोजिक समूहले पाँच हजार र जनहित माध्यमिक विद्यालयको कलाकार समूहले तीन हजार प्राप्त गर्यो ।
भलिबल खेलका पारखीलेसमेत तिहारे मेलाबाट आनन्द बटुले । उक्त प्रतियोगितामा आयोजक टिम विजेता बनी ३० हजार पुरस्कार जित्यो । उपविजेतमा सीमित भएको सङ्गम युवा क्लबले २० हजार पायो ।
भलिबल प्रतियोगिता पनि मेलाको नियमित आकर्षण बनेको छ । केन्द्रले मल्म, गैराखर्कस्थित आफ्नै खेलमैदानमा मेला सञ्चालन गर्दै आएको छ । केन्द्रले छ लाख लगानीमा जग्गा किनेर मैदान र कार्यक्रमस्थल व्यवस्थापन गरेको थियो । मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना केन्द्रको छ ।
मेलामा लोकगायक विष्णु खत्री, कुलवीर थापालगायतले प्रस्तुती दिएका थिए । मेलाको उद्घाटन गण्डकी प्रदेशसभाका सदस्य कुसुम बुढाले गरेका थिए । उनले मेलाले कला, संस्कृतिको संरक्षणमा टेवा पुर्याएको उल्लेख गरे । मेला अवलोकनका लागि गलकोटका विभिन्न ठाउँबाट दर्शक मल्म आएका थिए ।
प्रतिक्रिया