गाउँमा झिनियाँको व्यापार फस्टाउँदै

रामपुर (पाल्पा) । तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ । पहिला–पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा बढ्न थालेको छ ।
गाउँमा झिनियाँको माग सह बजारकै तुलनामा बढ्दै गएको छ । एक दशक अघिदेखि झिनियाँ व्यवसायमा लाग्नुभएका पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठ सफल व्यवसायी हुन् । तिहार सुरु भएदेखि झिनियाँ बिक्रीमा उनको व्यस्तता बढ्दो छ ।
उनी गाउँमा झिनियाँ उद्योग सुरुआत गर्ने पहिलो व्यवसायी हुन् । श्रेष्ठले यस व्यवसायबाट राम्रो सफलता पाएका छन् । उनले उत्पादन गरेको झिनियाँ गाउँका कुनाकाप्चासम्म पुग्ने गर्दछ । यस क्षेत्रकै पहिलो र पुरानो व्यवसायी भएकाले अधिकांश ग्राहक उनकै उद्योगबाट झिनियाँ खरिद गर्दछन् । श्रेष्ठले रामपुर नगरपालिका–५ स्थित राङभाङचोकमा उद्योगका रूपमा झिनियाँ सञ्चालन गरेका छन् ।
गुणस्तरीय उत्पादन भएकाले गाउँमा खुद्रा तथा थोकरूपमा सहुलियत मूल्यमा दिनहुँ ठूलो परिमाणमा बिक्री हुने गर्दछ । पहिला बिक्रीका लागि सहरबजार नै भर पर्नु परेकामा अहिले गाउँ–गाउँका किराना पसल, स्थानीय ग्राहक नै धेरै बढ्न थालेको व्यवसायी श्रेष्ठ बताए ।
‘सुरुआतका क्रममा बिक्रीका लागि गाउँमा भन्दा विभिन्न सहरबजारमा नै पुग्नुपथ्र्यो, गाउँमा कम मात्रामा मात्रै व्यापार हुन्थ्यो’, उनले भने, ‘पछिल्ला वर्षमा ग्रामीण भेगमा नै धेरै व्यापार हुने गरेको छ, तिहारमा झिनियाँको व्यापार गर्न पहिलाजसो सहरबजार नै कुर्नुपर्ने अवस्था छैन ।’
पूर्वखोला गाउँपालिकाको बिरकोटबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले रामपुर आएका श्रेष्ठले कुखुरापालन व्यवसाय थालनी गरे । सोही क्रममा कालिका सिन्के चाउचाउ उद्योग स्थापना गरी व्यवसाय सञ्चालन गर्दै गर्दा झिनियाँ उद्योगलाई समेत अगाडि बढाए । उद्योग व्यवसायमा अरुले भन्दा भिन्न व्यवसाय गर्न र गाउँका बेरोजगार युवालाई रोजगार दिने गरी व्यवसाय सञ्चालन गर्ने श्रेष्ठले झिनियाँ उत्पादनका लागि सात जना कामदार व्यवस्थापन गर्नुभएको छ । तिहारमा धेरै व्यापार हुने भएकाले वर्षायाम सकिएलगत्तै ठूलो परिमाणमा झिनियाँ उत्पादन गर्ने गरेको श्रेष्ठ बताए ।
प्रतिक्रिया