खुकुरी प्रहार गरी फरार रहेका राना पक्राउ

बाँके । धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको अभियोगमा बैजनाथ गाउँपालिका–१ चिसापानी घर भई हाल कोहलपुर नगरपालिका–११ बस्ने ३० वर्षीय आकाश रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २९ वर्षीय मिन बहादुर बिकलाई राना लगायतका व्यक्तिहरूले कात्तिक ३० खुकुरी प्रहार गरी फरार भएका थिए । फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरी टोलीले जानकी गाउँपालिका–४ स्थित खेतको अरहर घारीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई धकेली भाग्दै गर्दा प्रहरीले फायर गरी उनलाई नियन्त्रणमा लिएको हो ।
घुँडामा गोली लाग्न गई घाइते भएका रानाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । रानाविरुद्ध कात्तिक २८ गते १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको जाहेरी समेत दर्ता भएको र २०७४ असोज २७ गते जिल्ला अदालत बाँकेको आदेशले लागू औषध ब्राउनसुगर मुद्दामा कैद सजाय भई २०७९ भदौ २७ गते कैदमुक्त भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–११ जसपुर घर भई सोही उपमहानगरपालिका–५ रानिजरुवा डेरा गरी बस्ने ४० वर्षीय कमल डाँगी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१२ घर भई सोही महानगरपालिका–९ धौलागिरी मार्ग डेरा गरी बस्ने ३५ वर्षीय सोराज मल्ल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी चितवनको भरतपुर महानगरपालिका–११ लामाटोलस्थित नवजागृती सामुदायिक वनको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगति नगरस्थित तिनाउ खोलाको छेउमा सोही ठाउँ डेरा गरी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका–१ कारिकोट घर भएकी ४६ वर्षीया ननिसरा थापा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषधसहित एक जना पक्राउ
जुम्ला । चन्दननाथ नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित गुठीचौर गाउँपालिका–३ बस्ने १९ वर्षीय तपेन्द्र बुढथापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले तलासी लिने क्रममा तपेन्द्रले साथमा रहेको प्लाष्टिकले बेरेको पुरिया मुखमा हाली निलेकोले निजलाई नियन्त्रणमा लिई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा लगि उपचार गराउने क्रममा ४ वटा पुरियामा रहेको उक्त पदार्थ निकालिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंको गोकर्णेश्वसर नगरपालिका–२ नयाँपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक हैबुङ घर भएका ४६ वर्षीय चित्र बहादुर तामाङ आफ्नो कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले बस्ने ५८ वर्षीय दुर्बासा केसी सोही ठाउँस्थित सेरा खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि घरबाट हराई बेपत्ता भएका उनको अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा शव फेला पारेको हो ।
बाँकेको नरैनापुर गाउँपालिका–४ बडुवास्थित कल्बटमुनी पानी जमेको खल्डोमा भारत श्रावस्ती मल्हीपुर थाना भगरा गाउँ बस्ने ५० वर्षीय बिलाख निसाद बिहीबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ मोहना गाछी बस्ने ८५ वर्षीय विन्देश्वर यादव सोही ठाउँस्थित खेतको आलीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बस्ने ५७ वर्षीय कृष्ण बहादुर थापा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–३२ लाल्टिनबजार बस्ने ४० वर्षीय बुद्धि बहादुर गुरूङ सोही ठाउँस्थित गोरेटो बाटोको भिर मुनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले सोही ठाउँ बस्ने ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारी बस्ने बुद्ध कुमारी श्रेष्ठको घरबाट सुन र चाँदीका विभिन्न गहना, नगद तथा जिन्सी लगायतका सामान समेत गरी करिब ९ लाख ७६ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ सिमरा गाई फार्म बस्ने खिल बहादुर कार्कीको घरबाट सुनका विभिन्न गहना, मोबाइल, पानी तान्ने मोटर र नगद समेत गरी करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया