शनिबार, वैशाख २७, २०८२

पूर्वी सीमा नाकामा कडाइ

नेपालखोज २०८० मंसिर ७ गते ११:०५

विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार धार्मिक सभाका लागि भारतबाट आएकाहरुलाई सीमावर्ती रानी नाकाबाट भारत नै फर्काइएको छ । धार्मिक सभा अवधिभरको समयलाई नेपाल प्रवेश गर्न नदिएको उनले बताए । ‘सुनसरीमा हुने सभाका लागि भारतबाट आउनेहरुलाई नाकाबाट फर्काइरहेका छौं,’ उनले भने, ‘नाकामा सतर्कता बढाएका छौं ।’ अन्य कामका लागि आउजाउ गर्नेलाई भने रोकावट नरहेको उनले बताए ।

सुनसरीको इटहरीस्थित खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्म सभा ‘इज्तेमा’ गर्ने तयारी थियो । कार्यक्रमका लागि अस्थायी टहरा निर्माण गरिएको थियो । तर प्रशासनले अनुमति नदिएपछि सभा स्थगित भयो ।

प्रतिक्रिया